राप्तीसोनारी पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    • स्वास्थ्य पेज

  • २६ माघ २०७७, सोमबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । बाँकेमा पूर्ण खोप हुने पालिकामा यो छैठौं हो । अव नरैनापुर र बैजनाथ गाउँपालिका पूर्ण खोपयुक्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप शाखाका प्रमुख भेषराज शर्माले जानकारी दिनुभयो ।

राप्तीसोनारी गाउँपालिकामा सोमवार एक कार्यक्रमकाबीच पालिकाका अध्यक्ष लाहुराम थारुलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्नुभयो । खोपबाट बञ्चित ८१ बालबालिकालाई खोप दिएपछि पालिकालाई पूर्ण खोप घोषणा गरिएको हो । पालिकामा १६ देखि २३ महिनाका ९ सय ३७ बालबालिका छन् । पूर्ण खोप अभियानमा सबै बालबालिकालाई खोप दिइएको स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँकेलाई फागुन महिनामा पूर्ण खोप जिल्ला घोषणा गरिने उद्घोष गर्नुभयो । पालिकाका अध्यक्ष थारुले स्वास्थ्यलाई पालिकाले पहिलो प्राथमिकता दिएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उच्च सम्मान गर्दै अन्य पालिकाभन्दा राम्रो सेवा सुविधा दिएको पनि दावी गर्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले खोपयुक्त हुन बाँकी रहेका पालिकाहरुलाई पनि तत्काल पूर्ण खोप घोषणाका लागि तयारी भइरहेको बताउनुभयो । राप्तीसोनारीले खोपमा मात्र बर्सेनि साढे चार करोड बढी लगानी गरिरहेको छ । बालमृत्युदरमा कमी ल्याउन बालबालिकाहरुलाई नियमित खोप अनिवार्य शर्त रहेको चिकित्सकहरु बताउँछन् ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech