डाेल्पामा हेपाटाइटिस ‘बी’ सङ्क्रमण हुनेहरुकाे सङ्ख्या बढ्दै

    • स्वास्थ्य पेज

  • २२ माघ २०७७, बिहीबार

डोल्पा: हिमाली जिल्ला डाेल्पामा हेपाटाइटिस ‘बी’ सङ्क्रमण हुनेहरुकाे सङ्ख्या बढ्दै गएकाे पाइएकाे छ । अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस ‘बी’’ पोजिटिभ देखिएको थियो  । यस्तै, एक जनामा एचआईभी र तीन जनामा हेपाटाइटिस सी भेटिएको डा मेलिना हमालले बताउनु भएकाे हाे ।

वीर अस्पतालका वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसीले शिविरमा जाँच गराएका ३० प्रतिशतमा ‘हेपाटाइटिस ‘बी’ पोजिटिभ देखिनुले समस्या विकराल नै भएको जानकारी दिनुभएको थियो ।  तिब्बतीयनसँगको हेलमेलका कारण यो रोग भित्रिएको बताउँदै बच्चा जन्मनेबित्तिकै लगाइने ‘हेपाटाइटिस ‘बी’विरुद्धको खोप नलगाइनुले पनि प्रकोप बढ्दै गएको उहाँको भनाइ थियो ।

‘हेपाटाइटिस ‘बी’ सङ्क्रमितलाई रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उहाँले जानकारी दिनुभएको थियो  । उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायतका गाउँमा यो रोगका मानिस रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए ।

सोमबार मात्र छार्का ताङसोङ गाउँपालिका–१ का ४५ वर्षीय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी दुई जनालाई हेपाटाइटिस ‘बी’कै कारण थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

हेलिकोप्टरबाट बिरामी लिँदा स्थानीयको पाँच लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । चिकित्सकले उपल्लो डोल्पामा हेपाटाइटिस ‘बी’बारेमा जानकारी दिँदादिँदै सरोकारवाला निकाय मौन हुँदा यहाँका नागरिक थप समस्यामा पर्ने निश्चित भएको डा मेलिना हमालले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष बृहत स्वास्थ्य शिविरका लागि शे–फोक्सुण्डो गाउँपालिकाले बजेट विनियोजन गरे पनि शिविर गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताउनुभयो । उहाँका अनुसार यो आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ शिविरका लागि छुट्याएको छ ।

अहिले हिमपात भएका कारण रोकिएको बताउँदै न्यौपानेले भन्नुभयो, ‘चैत महिनासम्म बृहत् शिविर राखेर उपचारका लागि काम थालिने छ, हेपाटाइटिस बी का विषयमा छलफल भइरहेको छ ।’ त्यस्तै हेपटाइटिस’बी’बाट जोगिनका लागि डोल्पोबुद्ध गाउँपालिकाले आफ्नै लगानीमा दुईपटक खोप लगाउने काम भएको र अब तेस्रोपटक लगाउँदै गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्गेनीले जानकारी दिनुभयो । गाउँपालिकाले वैशाखमा बृहत् स्वास्थ्य शिविर राख्नका लागि पहल सुरु गरेको अधिकृत पङ्गेनीले बताउनुभयो ।

पालिकाले हेपाटाइटिस ‘बी’विरुद्ध केही पहल गरे पनि प्रदेश र सङ्घीय सरकारको तर्फबाट पहल नभएको जनप्रतिनिधिले गुनासो गरेका छन् । पाँच महिनाभन्दा लामो समयसम्म उपल्लो डोल्पाका बालबालिकाले कुनै खोपसमेत नपाउने गरेको जनप्रतिनिधिले नै बताएका छन् ।

छार्का ताङसोङ गाउँपालिकामा हेपाटाइटिस ‘बी’बाट जोगिनका लागि कुनै पनि बजेट व्यवस्थापन नगरेको र योजना पनि नभएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार हेपाटाइटिस ‘बी’ रहेको जानकारी भए पनि खास रोकथामका लागि पहल केही नभएको अवस्था छ ।

‘हेपाटाइटिस ‘बी’’ रोगको विषयमा सर्वसाधारणलाई मात्रै होइन, स्वयंसेविकालाई पनि जानकारी छैन । यो कस्तो रोग हो ? यो रोग लागे के हुन्छ ? कसरी लाग्छ ? कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थोरै मात्रै जानकारी भएको स्वयंसेविका याङ्की गुरुङको भनाइ छ । गाउँमा ‘हेपाटाइटिस ‘बी’’को अवस्था विकराल भएको जानकारी पाउँदापाउँदै पनि स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको उहाँले बताउनुभयो।

प्रत्येक वर्ष ‘हेपाटाइटिस ‘बी’को सङ्क्रमण बढ्दै जाँदा स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको सर्वसाधारणको भनाइ छ । प्राणघातक रोगले गाउँ नै थला पर्ने अवस्थामा पुग्दासमेत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम हुन नसकेको स्थानीयवासी बताउँछन् । बिरामी भएमा उपचारका लागि हेलिकोप्टर भाडामा लिएर अस्पतालसम्म पुग्नुपर्ने उपल्लो डोल्पाको बाध्यता रहेको छ ।

दिनप्रतिदिन ‘हेपाटाइटिस ‘बी’को सङ्क्रमण बढ्दै जान थालेपछि उपल्लो डोल्पामा विभिन्न देशबाट आउने पर्यटकसमेत त्रसित हुन थालेका छन् । यो रोग फैलिएको जानकारी पाएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आउन थालेको पर्यटन व्यवसायीको भनाइ छ ।

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech