पोखराः
गण्डकी प्रदेशमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।
सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो। पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ ।
चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ ।
खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालिम दिइएको निर्देशक शर्माले बताउनुभयो । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ ।
अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको । कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ । १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो ।