काठमाडौं २९, पुष ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कोषमा रकम जम्मा गर्न दातृ निकाय लगायतलाई आह्वान गरेको छ। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको भ्याक्सिन खरिद गरी लक्षित समूहलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै आर्थिक सहयोग गर्न सार्वनजिक अपिल गरेको छ।
मन्त्रिपरिषद्को गत कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृतिप्राप्त भ्याक्सिन खरिद गरी लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिसकेको छ। मन्त्राललले खोप कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने जनाएको छ। उक्त कोषको आयव्ययको समेत कानुन बमोजिम लेखाजोखा राखिने मन्त्रालयले स्पष्ट पारेको छ।