लागु औषध विरुद्ध बाँकेका सबै वडामा सूचना संजाल विस्तार

    • स्वास्थ्य पेज

  • २३ पुष २०७७, बिहीबार

नेपालगन्ज २३, पुष ।
लागु पदार्थ कारोवार र त्यसको कूलतमा फस्नेको संख्या नियन्त्रण नभएपछि बाँकेमा प्रहरीले सबै वडासम्म सूचना संजाल विस्तार सुरु गरेको छ । लागू औषध सेवन तथा कारोवार गर्ने सूचना प्राप्त गर्न वडा तहमै पुगेको प्रहरीले जनप्रतिनिधिहरुको सहकार्यमा संजाल विस्तार सुरु गरेको हो ।

बाँके प्रहरीले लागु औषध निस्तेज अभियान अन्तर्गत कारोवारीको सूचना लिन वडाअध्यक्षको नेतृत्वमा समिति गठन गरी परिचालन गरेको छ भने समुदायका प्रत्येकको घरघरमा पुगेकार व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । साथै ११ देखि २५ वर्ष उमेर समुहका युवायुवतीमाथि निगरानी बढाएको छ ।

राप्तीसोनारी गाउँपालिका–६ का वडाअध्यक्ष रामलखन थारुले प्रहरीको यो अभियानले लागु पदार्थ कारोवार तथा सेवन रोकथाममा ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘गाउँघरमा लागु औषध प्रयोगकर्ता वा कारोवारीबारे शंका लागे तत्काल प्रहरीलाई खवर गछौं उहाँले भन्नुभयो–‘प्रहरीकै संलग्नतामा उस्लाई काउन्सिलिङ गर्ने देखि कारवाही गर्नेसम्मका कार्य हुने छ ।’

लागु औषधविरुद्ध समुदायलाई नै परिचालन गरेको बाँके प्रहरीले वितेको ६ महिनामा लागु औषधसहित ९३ जना पक्राउ गरेको छ । यस्तै ६१ जना विरुद्ध मुद्दा नै चलाएको छ । मुद्दा चलाइएका मध्ये १८ देखि २५ वर्ष उमेर समूहका ३६ प्रतिशत छन् । लहडमा लागेर कूलतमा फस्न सक्ने उमेर समूहका व्यक्तिमाथि निगरानी बढाएसँगै पक्राउ पर्नेको संख्या बढ्न थालेको प्रहरीको भनाइ छ ।

त्ससमा कारोवारीको संख्या धेरै रहेको एसपी ओम रानाले बताउनुभयो । ‘पक्राउ परेकाहरुको तथ्याङ्क हेर्दा लागु औषध सेवन तथा कारोवारीहरु धेरै छन् उहाँले भन्नुभयो–‘नियन्त्रण सम्भव गराउन वडाअध्यक्षकै नेतृत्वमा समिति बनाएर लागु औषधविरुद्धको लागु औषध निस्तेज अभियान  सुरु गरेका छौं ।’

पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन जनप्रतिनिधिहरुनै आउने भएकाले उनीहरुकै संलग्नतामा समिति गठन गरि उनीहरुकै प्रमुख जिम्मेवारीका साथ नियन्त्रणको काम थालिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार नेपालमा लागु पदार्थ भित्रिने प्रमुख चारवटा नाकामध्ये नेपालगन्जको जमुनाह नाका पनि एउटा हो ।

खजुरा गाउँपालिकाका प्रमुख किष्मतकुमार कक्षपति जिल्ला समन्वय समितिको अगुवाइमा सबै स्थानीय पालिकाले समन्वय गरेर अगाडी बढेमात्र प्रहरीको अभियान प्रभावकारी हुने सुझाव दिनुहुन्छ । ‘यो अभियान जरुरी छ अध्यक्ष कक्षपतिले भन्नुभयो–‘नागरिकसँगको प्रत्यक्ष सहयोग र सहकार्यमा अगाडी बढाउनु पर्छ र त्यसको लिड प्रहरीले गर्नुपर्छ । त्यसो गरियो भने अभियान प्रभाकारी हुन्छ ।’

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech