नेपालगन्ज: बाँकेको खजुरा गाउँ पालिकाको वडा नम्बर ६ मा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरिएको छ ।
वडा नम्बर ६ का अध्यक्ष साबिर जोलाहको अध्यक्षतामा भएको भवन उदघाटन खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गर्नुभएको थियो ।
जनतालाई वडा सम्मै स्वास्थ्यमा पहुंच पुगाउने उदेश्यले वडा नम्बर ६ मा पनि सेवा सुरु गरिएको हो । विगत १ वर्ष अघि निर्माण सुरु गरिएको भएपनि यस वर्ष भवन निर्माण सम्पन्न हुँदा सेवा सहित सुरु गर्न उदघाटन गरिएको गाउँ पालिकाले जनाएको छ।
नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उदघाटन गर्दै खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनतालाई गरिएको वाचाहरु मध्य एक स्वास्थ्य सेवा पनि रहेकाले उक्त कार्यलाई पालिकाले प्राथमिकता दिएको बताउनुभयो ।
अध्यक्ष कक्षपतिले बाँकेमा सबै वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्ने खजुरा बनेको उल्लेख गर्नुभयो । प्रत्येक वडाका जनतालाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकीहरु सञ्चालन गरिएको गाउँ पालिकाका अध्यक्ष कक्षपतिले जनाउनुभयो ।
स्वास्थ्यमा हब बन्ने क्रममा खजुरा रहेको उहाँले बताउनुभयो । खजुरा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले संघीयता कार्यन्वयन सँगै स्थानीय सरकारको मुख्य उद्देश्य भित्र स्वास्थ्य पनि रहेकाले सोही अनुरुप सेवा प्रदान गरिएको बताउनुभयो ।
उहाँले खजुरा सबै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको उल्लेख गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत खरालले आधारभूत स्वास्थ्य केन्द्रलाई पनि स्वास्थ्य चौकी सरहको सेवा दिन सक्ने गरी बनाउन योजना बनाइएको र उक्त योजना कार्यान्वयनको क्रममा रहेको जनाउनुभयो । स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले स्वास्थ्य सेवा दिने कुरामा केही भए पनि सहज हुने बताउनुभयो ।
स्थानको अभाबमा स्वास्थ्य सेवा पाउन बाट वञ्चित हुन नपर्ने उल्लेख गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख पौडेलले स्वास्थ्यकर्मीले गुणस्तर स्वास्थ्य सेवा दिन तत्पर रहेको प्रतिबद्धता जनाउनुभयो । खजुरा गाउँ पालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले खजुरा स्वास्थ्य सेवामा सक्षम रहेको बताउनुभयो ।
जनप्रतिनिधि निर्वाचित भएपछि खजुरामा विकासको मूल फुटेको भन्दै स्वास्थ्य सेवालाई मुख्य ध्यान दिएको उल्लेख गर्नुभयो । उहाँले खजुराले भौतिक संरचनालाई समेत ध्यान दिएकोले जनताले विकासको अनुभूति गर्न पाएको बताउनुभयो ।
आज (सोमबार) उदघाटन गरीएको आधारभूत स्वास्थ्य सेवा केन्द्र ४६ लाख लागतमा निर्माण सम्पन्न भएको खजुरा गाउँपालिकाका योजना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिनुभयो ।