फैलिँदै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

नेपालगन्जः कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ। दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका विषयमा अझै ध‍ेरै अनुसन्धान हुनै बाँकी छ। तर नयाँ भेरिन्ट देखिएसँगै विश्व स्वास्थ्य संगठनले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिँदै आइरहेको छ।

अहिलेसम्म विश्वका २० देशमा नयाँ भेरियन्टका संक्रमित भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाइएको छ। नयाँ भेरियन्टका संक्रमित अहिलेसम्म सबैभन्दा बढी दक्षिण अफ्रिकामा भेटिएका छन्। हालसम्म सार्वजनिक रिपोर्ट अनुसार दक्षिण अफ्रिकामा ७७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको छ।

दक्षिण अफ्रिकापछि बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको छ। यस्तै अस्ट्रेलिया, जर्मनी, इटालीमा, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अस्ट्रिया, स्विडेन, स्पेन र दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्।

डब्ल्यूएचओले कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ। विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरना स्वरुपका बारेमा स्पष्ट नभएको आइतबार जनाएको छ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech