काठमाडौंः निपाह भाइरसको प्रकोप सन् १९९९ मा पहिलोपटक मलेसियामा देखिएको थियो। निपाह नाम मलेसिया उक्त समयमा बंगुर कृषकहरुबाट फैलिएको थियो। उक्त समयमा संक्रमित भएका व्यक्तिहरुलाई आइसोलेसनमा राखिएको थियो। सोहीमध्येका एकजनाले संक्रमणकै कारण ज्यान गुमाएका थिए।
पहिलो देखिएका यो भाइरस घर पालुवा बंगुरमा देखापरेको थियो। जुन समयमा करिब तीन सय मानिस संक्रमित भएसँगै एक सयभन्दा बढीको मृत्यु भएको अध्ययन अनुसन्धानमा उल्लेख गरिएको छ। सोही समयमा संक्रमणको फैलावट रोक्नका लागि करिब एक लाख बंगुर मारिएको थियो।
त्यसयता मलेसियामा यो भाइरसको प्रकोप नदेखिए पनि भारत र बंगलादेशमा भने देखिँदै आएको छ। सन् २००१ देखि २०११ सम्म बंगलादेशमा देखिएको निपाह भाइरस पछिल्लो समय भारतको बंगाल र केरलामा देखिएको छ।
अहिले निपाह भाइरसको संक्रमण भारतको केरलामा फैलिँदै गएको छ। संक्रमण बढ्दै जाँदा केरलामा मृत्युदर पनि बढ्न थालेको छ।
खुला सिमानाका कारण भारतमा निपाह भाइरसको संक्रमण बढ्दै गर्दा यसको जोखिम नेपालमा पनि उच्च रहेको विज्ञहरुले बताएका छन्। यो भाइरसको संक्रमण नेपालमा पनि फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सर्तकता अपनाउन आग्रहसमेत गरेको छ।
हालसम्म निपाह भाइरस नेपालमा पुष्टि भएको छैन। छिमेकी राष्ट्रमा पटक–पटक देखिने गरेको यो भाइरसको जोखिम सधैँ उच्च रहने गरेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो।
अहिले नै नेपालमा यो भाइरसको संक्रमण देखिइसकेको अवस्था छैन। तर जोखिमका हिसाबले नेपाल उच्च जोखिममा छ ।
उहाँका अनुसार यो भाइरसका लक्षण अन्य संक्रामक रोगहरुसँग मिल्दाजुल्दा भएका कारण यसको पहिचानमा समस्या देखिन सक्छ। डा अधिकारीले निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग भएको बताउनुभयो।
यो भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरामा पाइन्छ। चमेरोबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने यो भाइरस निकै नै घातक मानिने उहाँले बताउनुभयो ।
फ्रुट ब्याट प्रजातिको चमेरोले फलफूल तथा तरकारी खाने भएका करण यसको उक्त चमेरोमा भाइरस भएको खण्डमा संक्रमण चाँडै फैलिने सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले बताउँनुहुन्छ । चमेरोले तरकारी तथा फलफूलहरु खाँदा र्याल लागेको हुन्छ। त्यही कुरा मानिसले सावधानी नअपनाएर प्रयोग गरेमा संक्रमित हुने सम्भावना एकदम धेरै हुने उहाँको भनाइ छ ।
नेपालका विभिन्न ठाउँहरुमा फ्रुट ब्याट प्रजातिको चमेराको बासस्थान भएको पाइएको छ। तर नेपालमा पाइने यो प्रजातिको चमेरामा निपाह भाइरस छ या छैन भन्नेबारे कुनै पनि पुष्टि भने भइनसकेको विज्ञहरुले बताएका छन्।