धनुषामा औषधि पसलमा कोरोना खोप, दुई जना पक्राउ

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७८, बिहीबार

जनकपुरधाम: धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ । शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोना खोप फेला परेको हो ।

शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा उक्त औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डललाई पक्राउ गरेको उहाँले बताउनुभयो । मण्डललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले एक जना स्वास्थ्यकर्मीले नै बेच्न दिएको बताएपछि ती स्वास्थ्यकर्मीलाई पनि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले बताउनुभयो ।

फेला परेकामध्ये भेरोसेलका १ भाइल तथा अस्ट्राजेनेकाको भाइल खुलेको पाइएको उहाँको भनाइ छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय यदुकोहामा राखिएको र थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताउनुभयो ।

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech