सुर्खेतः चार वर्ष अघि जुम्लाबाट सुरु भएको स्वास्थ्य वीमा कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागू छ । तर अझैपनि ८३ प्रतिशत कर्णालीबासी स्वास्थ्य वीमाको पहुँच भन्दा बाहिर छन् ।
संघीय सरकारले तामझामका साथ सुरु गरेको स्वास्थ्य वीमा कार्यक्रम १८ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा अहिलेसम्म २ लाख ६७ हजार १ सय ९७ जनाले मात्रै वीमा गराएका छन् ।
जस्का कारण नागरिकको समग्र स्वास्थ्यस्थितिमा सुधार ल्याउन तथा सवैका लागि स्वास्थ्य वीमा सुनिश्चि गर्ने उद्देश्यले ल्याइएको स्वास्थ्य वीमा कार्यक्रम कर्णाली प्रदेशमा प्रभावकारी बन्न नसकेको देखिएको हो । धेरैलाई त वीमा कार्यक्रमबारे नै जानकारी छैन ।
हालसम्म सुर्खेतमा ५२ हजार ५ सय ९९, कालिकोटमा ३६ हजार ८ सय ६, जाजरकोटमा ४० हजार १ सय ७६, रुकुमपश्चिममा ५५ हजार ३८, जुम्लामा ५३ हजार ६२, डोल्पा २ हजार १ सय ९०, मुगु ४ हजार २ सय ५६, दैलेख १० हजार ३ सय ५१ र सल्यानमा ५ हजार ३ सय ८५ जनाले वीमा गराएका छन् । वीमा गराएकामध्ये कतिपयले नवीकरण समेत गरेका छैनन् ।
व्यवस्थितरुपमा प्रचारप्रसार हुन नसक्दा वीमा कार्यक्रम प्रभावकारी बन्न नसकेको स्वास्थ्य विमा वोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितको भनाइ छ । कर्णालीमा २४ स्वास्थ्य संस्थाबाट विमितहरुले सेवा लिन पाउने व्यवस्था मिलाइएको छ ।
तोकिएकै संस्थाबाट सेवा लिनुपर्ने, ती स्वास्थ्य संस्थामा पनि पर्याप्त औषधि नहुने र सेवा लिँदा झन्झटिलो प्रक्रिया हुने हुँदा स्वास्थ्य वीमाप्रतिको आकर्षण बढ्न नसकेको हो ।