काठमाडौंः दुईवटै खोप अभियान निरन्तर अगाडि बढाउनुपर्ने अवस्था अहिले छ । कोरोना महामारी विरुद्ध लड्नका लागि कोरोनाको खोपलाई मात्र ध्यान दिँदा नियमित खोप छुटेका कारण भोलि अर्को महामारीको सामाना गर्नुपर्ने अवस्था आउन सक्छ।
बालबालिकामाथि हुन सक्ने अरु सङ्क्रामक रोग विरुद्ध सचेत भएर नियमित खोप लगाउने कुराहरुमा सावधान भएनौँ भने भोलिका दिनमा अप्ठ्याराहरू आउन सक्छन् । यस्तै कुराहरुलाई बुझेर नियमित खोप अभियानलाई निरन्तरता दिने गरी सरकारले प्रबन्ध गरिराखेको छ । विभिन्न कारणले गर्दा केही अप्ठ्याराहरु पनि भइरहेका छन् । ती अप्ठ्याराहरुलाई समाधान गर्ने गरी सरकारले काम गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताउनुभयो ।
हामी समाजका अग्रज, बुझेका व्यक्तिहरुले पनि नियमित खोप लगाउने विषयमा सहजीकरण गर्नु आवश्यक छ । हाम्रो घर वरपर अथवा आफन्त कोही नियमित खोप लगाउनबाट वञ्चित हुन लागेका छन् भने त्यसतर्फ ध्यान दिएर सहयोग गर्नुपर्छ । यस्तै स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग सल्लाह र परामर्श गरेर सबैलाई समेट्ने प्रयास गर्नुपर्छ।
खोपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । अभिभावकले यी कुरा बुझ्न जरुरी छ । विभिन्न कारणले नियमित खोप लगाउन छुटेको भए स्थानीय स्वास्थ्यसंस्थासँग सम्पर्क गरेर, खोप लगाउन छुट्नुको कारण बताउनुपर्ने हुन्छ।
बालबालिकाका लागि लगाइने नियमित खोपहरु जुन-जुन समयमा लगाउनुपर्ने हो, त्यही समयमा लगाएनौँ भने फेरि त्यसले बालबालिकालाई सङ्क्रमण हुन सक्ने जोखिम रहन्छ । दादुरा लगायतका रोग फैलिएर अर्को महामारी आउन सक्छ । समस्याहरु बढ्न सक्छन् ।
टिटानस लगायतका अरु स्वास्थ्य समस्या फेरि बढ्न सक्छन् । पोलियोको समस्याहरु फेरि बढ्न सक्छन् । नियमित खोप अभियानबाट धेरै रोगहरुलाई जित्न सकिन्छ । खोप लगाउन बालबालिका छुटेमा रोग निवारण गर्ने सरकारको लक्ष्य पूरा हुन सक्दैन ।
यस्ता छन् बालबालिकामा लगाइने नियमति खोप
– बी.सी.जी :- यो खोप जन्मनासाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ । क्षयरोगका साथै भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण र शरीरको प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।
– डी.पी.टी/ हेपाटाइटिस बी.हीब :- यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमाफिलस बी बाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।
– पी.सी.भी. :- यो खोप बच्चा जन्मिएको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । यो खोप तीन पटक दिइन्छ । यसले निमोनियाबाट बचाउँछ ।
– पोलियो :- पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियो माइलाइटिसबाट जोगाउँछ ।
– दादुरा रुबेला :- यो खोप जन्मिएको ९ महिनादेखि एक वर्ष भित्रको उमेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।
– टीडी–टीटी :- यो खोप गर्भवती महिलाहरुलाई दिइने गरिन्छ । यसले धनुष्टङ्कार र भ्यागुते रोगबाट बचाउँछ ।
– जे.ई :- यो खोप १२ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई दिइन्छ । यसले जापानिज इन्सेफ्लाइटिसबाट बचाउँछ ।