धनगढीः धनगढीमा अक्सिजन प्लान्ट जडानको कार्य अन्तिम चरणमा पुगेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा प्लान्ट जडानको कार्य अन्तिम चरणमा पुगेको हो। चौधरी ग्रुपअन्तर्गतको फाउण्डेशनले उपकरण खरिद गर्दै जडानका लागि ठेक्का गरेको थियो।
अक्सिजन प्लान्टका उपकरणसँगै जडानको प्राविधिक सहयोगसमेत चौधरी फाउण्डेशनको हो। चौधरी फाउण्डेशनले विद म्यानेजमेन्टलाई धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट जडान गर्न ठेक्का दिएको चौधरी फाउण्डेशनका सुदूरपश्चिमका प्रतिनिधि स्माइल चौधरीले बताउनुभयो । प्लान्ट सञ्चालनमा समेत फाउण्डेशनले सहयोग गर्नेछ ।
सोही अक्सिजन जडानका लागि धनगढी उपमहानगरपालिकाले जनस्तरबाट ८४ लाख संकलन गरेको थियो। ५० प्रतिशत चौधरी फाउण्डेसन र ५० प्रतिशत उपमहानगरपालिकाको लगानी हुने बताइएकोमा त्यसको सम्झौता भने भेटिएको छैन।
उपमहानगरपालिकाका डिभिजन इन्जिनियर भट्टले पनि सम्झौताको बारेमा कुनै जानकारी नभएको प्रतिकृया दिनुभयो ।
झण्डै दुई करोड ५० लाखमा अक्सिजन प्लान्ट जडानका लागि उपकरण चौधरी फाउण्डेशनबाट ल्याइएको छ। प्लान्ट जडानको सम्झौताका बारेमा स्वास्थ्य शाखा पनि अनभिज्ञ छ। उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले पनि सो बारेमा जानकारी नभएको बताउनुभयो ।
धनगढी उपमहानगरापालिका वडा नम्बर ७ बेलीमा अक्सिजन प्लान्ट जडानको काम भने लगभग पूर्ण भएको छ। दैनिक दुई सय ५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट जडान भइरहेको हो।