भैरहवाः कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान नदिइएको, सामाजिक सञ्जालमा स्टाटस् लेखेकै विषयमा स्पष्टीकरण सोधिएको भन्दै भैरहवास्थित भीम अस्पतालमा आमरण अनशन थालिएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र केही कर्मचारीले बुधबार दिउँसोदेखि अस्पताल परिसरमा आमरण अनशन सुरु गरेका हुन् । अनशनमा सहभागी कर्मचारी तथा स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा केही धारणा लेख्दा अस्पताल प्रशासनले स्पष्टीकरण सोध्दै सेवाबाट निकाल्ने धम्की दिएको आरोप लगाएका छन् ।
उनीहरुले अस्पतालकी मेडिकरल सुपरिटेन्डेन्ट सकुन्तला गुप्ताले स्पष्टीकरण सोध्ने र नोकरीबाट हटाउने धम्की दिएको आरोप लगाएका छन् । अस्पताल विकास समितिको तर्फबाट कार्यरत भीम अस्पतालका अहेव गोपाल उपाध्यायका अनुसार, अस्पताल प्रशासनले कोभिड संक्रमणको बेला अस्पताललाई अक्सिजन उपलब्ध गराउने केही व्यक्तिलाई मंगलबार औपचारिक कार्यक्रम गरी सम्मान गरे पनि स्वास्थ्यकर्मी सम्मानबाट बञ्चित भएको भन्दै अस्पतालको भाइबर ग्रुपराखिएपछि स्पष्टीकरण सोधिएको थियो ।
अनशनमा बसेकाहरुले अस्पताल विकास समितिबाट नियुक्ति दिएका कर्मचारी र स्वास्थ्यकर्मीलाई अस्पतालका अन्य कर्मचारी र स्वास्थ्यकर्मीसरह सेवा सुविधा पाउनु पर्ने, कोभिड संक्रमणको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीले पाउनु पर्ने सेवा सुविधा तत्काल दिनु पर्ने र मेडिकल सुपरिटेन्डेन्ट गुप्ताको सरुवाको माग गरेका छन् ।