अन्ततः विक्री भएन मेडिकल कलेजको शेयर, पुरानै ग्रुपले चलाउने

कोभिडका कारण पछिल्लो अवस्थामा मेडिकल कलेज आर्थिकरुपमा खस्किएको डा कनोडियाको भनाइ छ ।  गत आर्थिक वर्षमा १८ करोड घाटा संस्थाले बेहोर्नु परेको पनि उहाँले बताउनुभयो । एमबीबीएस विद्यार्थी भर्ना नभएकाले यो आर्थिक वर्षमा पनि ८-१० करोड घाटा हुने देखिएको छ ।


    • प्रियास्मृति ढकाल

  • १६ भाद्र २०७८, बुधबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेजको ठूलो शेयर विक्री भएको भन्ने हल्ला अन्ततः हल्लामै सीमित भएको छ । केही संचारमाध्यममा मेडिकल कलेज नै विक्री भएका खवरहरु सार्वजनिक भएका थिए ।

‘मेडिकल कलेज विक्री गर्ने भनेको होइन शेयर विक्री गर्ने तयारी थियो कलेजका निर्देशक डा सुरेशकुमार कनोडियाले भन्नुभयो–‘शेयरधनीहरुले आफै चलाउने भनेपछि स्थगित भयो ।’ हाल मेडिकल कलेजमा कनोडिया ग्रुपको शेयर बर्चश्व छ ।

८-१० बर्ष अघि देखि नै शेयर विक्री गर्ने तयारीमा मेडिकल कलेज थियो । त्यही अनुसार, पछिल्लो पटक विराटनगरका सुनिल शर्मासँग मेजर शेयर विक्रीको अन्तिम तयारी गरिएको थियो ।

शर्मा नोबेल मेडिकल कलेज र केएमसी मेडिकल कलेजका मालिक हुनुहुन्छ । उहाँलाई मेजर शेयर दिएर मेडिकल कलेजलाई थप सेवामुखि बनाउने तयारीमा कनौडिया ग्रुप थियो । तर अन्य शेयरकर्ताले सुनिल जीले गर्ने काम हामी आफैबाट गरौं भन्ने प्रस्ताव अघि सारेपछि शेयर विक्री रोकिएको निर्देशक कनोडियाले बताउनुभयो ।

नेपालगन्ज मेडिकल कलेज पश्चिम नेपालको उपचार र मेडिकल अध्ययनका लागि केन्द्र मानिन्छ । करिव १४ सय कर्मचारी रहेको मेडिकल कलेजमा भारत, बंगलादेशलगायतका देशबाट मेडिकल अध्ययन गर्न आउने गर्छन् ।

कोभिडका कारण पछिल्लो अवस्थामा मेडिकल कलेज आर्थिकरुपमा खस्किएको डा कनोडियाको भनाइ छ ।  गत आर्थिक वर्षमा १८ करोड घाटा संस्थाले बेहोर्नु परेको पनि उहाँले बताउनुभयो ।

एमबीबीएस विद्यार्थी भर्ना नभएकाले यो आर्थिक वर्षमा पनि ८-१० करोड घाटा हुने देखिएको छ । ‘हाम्रो मुख्य स्रोत भनेकै विद्यार्थी हो उहाँले भन्नुभयो–‘विद्यार्थी नै भर्ना नभएपछि कसरी खर्च व्यवस्थापन हुन्छ’ ? सन् २०१४ सम्म १ सय ५० जना विद्यार्थी अध्ययन गर्थे ।

सरकारले सय सिटमात्रै दिने निर्णय गर्यो । विद्यार्थी संख्या घट्यो । पछिल्लो समय कोरोना महामारीले अस्पताल धरासयी अवस्थामा पुगेको निर्देशक डा कनोडियाको भनाइ छ । त्यही भएर ठूलो लगानीकर्तालाई शेयर दिएर यसलाई थप व्यवस्थित बनाउने योजना अनुसार कनौडिया ग्रुपले शर्मालाई मेजर शेयर दिने तयारी गरेको थियो ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech