वीरेन्द्रनगरः कोरोना भाइरस दोस्रो लहरको सुरूवातीमा कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको चरम अभाव भयो । त्यसबेला अस्पताल भर्ना भएकामध्ये अधिकांश कोभिड संक्रमितलाई अक्सिजन दिएर उपचार गर्नु परिरहेको थियो ।
स्वासप्रश्वासको जटिल समस्या भएका संक्रमितले कोरोना विशेष अस्पताल भरिएका थिए । कर्णालीका लागि आवश्यक अक्सिजन नेपालगञ्जलगायतका सहरहरूबाट भरेर ल्याउनुपर्ने बाध्यता थियो । बिरामीको चाप अत्यधिक हुँदा बाहिरबाट ल्याइएकाले पनि माग धान्ने अवस्था थिएन । प्रदेशमा अक्सिजनको हाहाकार थियो । जसले गर्दा कोरोनाका कतिपय गम्भीर बिरामीले समयमै अक्सिजन नपाउँदा ज्यानसमेत गुमाए ।
अक्सिजन अभावले अस्पतालहरूलाई बिरामी भर्नामा समस्या थियो । त्यतिबेलासम्म सुर्खेतस्थित प्रदेश अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मात्रै अक्सिजन उत्पादन हुन्थ्यो । त्यहाँ उत्पादन हुने अक्सिजनले ती अस्पतालहरूलाई नै पुगिरहेको थिएन ।
कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजनको निकै अभाव भोगेको कर्णालीमा अहिले भने विभिन्न स्वास्थ्य संस्थाहरूले धमाधम अक्सिजन प्लान्ट निर्माणको काम अघि बढाएका छन् । प्रदेश र स्थानीय सरकारले समेत स्वास्थ्य पूर्वाधारको विकाससँगै अस्पतालहरूमा अक्सिजन प्लान्ट जडानमा जोड दिएका छन् । दोस्रो लहर जस्तो आगामी दिनमा समस्या नहोस् भनेर प्लान्ट निर्माणमा प्राथमिकता दिइएको सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार नयाँ जडानको प्रक्रिया थालिएका र पुराना दुई वटा अक्सिजन प्लान्टसहित कर्णालीमा हाल ११ वटा ठूला तथा नौ वटा साना प्लान्ट हुनुपर्ने हो । ठूला ११ वटा अक्सिजन प्लान्ट मध्ये रुकुमपश्चिम र कालीकोटमा मात्र नयाँ प्लान्ट जडान भएर सञ्चालमा ल्याइएको छ । यी प्लान्ट २४ घण्टामा ४० वटा अक्सिजन सिलिण्डर भर्न सकिने क्षमताका हुन ।
अन्य क्षेत्रमा भने प्लान्ट जडानको काम भइरहेको छ । वीरेन्द्रनगर नगरपालिकामा प्लान्टको संरचना निर्माण र मेसिन जडानको काम सकिएको नगरप्रमुख देवकुमार सुवेदीले बताउनुभयो । वीरेन्द्रनगर–७ स्थित कटकुवा नगर अस्पतालमा प्लान्ट जडान गरिएको हो । अहिले जडान सम्पन्न गरेर परीक्षणको काम भइरहेको छ । प्रमुख सुवेदीकाअनुसार उक्त प्लान्टबाट २४ घण्टामा एक सय ५० देखि एक सय ७० वटा सिलिण्डरसम्म भर्न सकिने छ ।