काठमाडौंः अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ ।
अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई सोमबारदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक हो । त्यो संक्रमणबाट बचाउन पोलियो खोप लगाउने व्यवस्था सरकारले मिलाएको गौतमले बताउनुभयो ।
नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार गरिने सबै नागरिकलाई पोलियो खोप लगाउन लागिएको गौतमले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा हाल अफगानिस्तान र पाकिस्तानमा प्रत्येक वर्ष पोलियोका बिरामी फेला पर्ने गरेका छन् । यो वर्ष दुईजनामा पोलियो फेला परेकोमा एकजना पाकिस्तानी र अर्को अफगानिस्तानी नागरिक हुन् ।
पोलियोले मुख्यतः पाँच वर्षमुनिका बालबालिकालाई प्रभावित गर्छ र यो निको हुँदैन । समुदायमा बच्चालाई पनि पोलियो रोग भएमा अरु बालबालिकालाई सर्ने सम्भावना हुन्छ । खोप कार्यक्रम सञ्चालन भएता पनि खोप सेवा राम्ररी उपभोग नभएका ठाउँका बालबालिका पनि यस रोगका जोखिममा पर्न सक्छन् ।
पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन । पोलियो रोगको संक्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय भनेको खोप तालिका अनुसार पोलियो रोगविरुद्ध खोप दिनु नै हो ।