चितवनः भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलाइसिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ। डायलाइसिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलाइसिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन्। अस्पतालमा रहेका १२ डायलाइसिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन्।
दैनिक चार सिफ्टमा डायलाइसिसको काम हुँदै आएको यस अस्पतालमा अहिले मासिक १०१ व्यक्तिले नियमित सेवा लिँदै आएका छन्। साउनमा मात्रै १२१ ले सेवा लिएको उनले जानकारी दिए। साउनमा सेवा लिएकामध्ये ४९ महिला र ७२ पुरुष छन्।
डायलाइसिस विभागकी सुनिता देवकोटाका अनुसार अहिले पालो पर्खेर बसेका बिरामीको सङ्ख्या ४० जना रहेको छ। पालो पर्खेर बसेकाले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ। उनीहरुले यहाँ लामो समयसम्म पालो कुर्नुपर्ने भएपछि अन्य अस्पतालबाट सेवा लिने गरेका छन्।