दैलेखः दैलेख अस्पतालमा २५ शैयाको एचडियू वार्ड सञ्चालनमा आएको छ । संघीय सरकारले पठाएको ३ करोड १२ लाख ७० हजार रुपैयाँमध्ये ठेक्का प्रक्रिया मार्फत २ करोड ८० लाखको लागतमा एचडियू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालनमा आएको हो ।सामग्रीहरु खरिद गरेर जडान गरेसँगै एचडियू सञ्चालनमा ल्याईएको स्वास्थ्य सेवा कार्यालय दैलेखका स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताउनुभयो ।
उहाँकाअनुसार २५ बेड मध्ये ५ बेड आइसोलेसन वार्ड र २० वटा बेड अस्पतालमै जडान गरिएको छ । कोरोना भाइरस महामारीको समयमा कोरोनाका बिरामीलाई उपचार गर्ने प्रयोजनका लागि निर्माण गरिएको आइसोलेसन वार्डमा जडान गरिएको एचडियूले कोरोना संक्रमितको उपचारमा सहज हुने रेग्मीले बताउनुभयो ।
एचडियू सञ्चालनमा आएसँगै अब सामान्य बेडमा उपचार सम्भव नहुने बिरामीलाई एचडियूमा राखेर उपचार गरिने दैलेख अस्पतालका डा जगत थापाले जानकारी दिनुभयो । कोरोना संक्रमित बिरामी मात्र नभई स्वासप्रश्वास लगाएतका गम्भीर बिरामीहरुको उपचारमा सहज हुने उहाँको भनाइ छ ।
जनशक्ति अभावमा एक बर्ष अघि खरिद गरेर अस्पतालमा जडान गरिएको भन्टिलेटर थन्काउनुपरेको डा थापाले बताउनुभयो ।