नेपालगन्जः नेपालगन्जमा कोभिडविरुद्धको खोप कोभिशिल्डको दोस्रो डोज आजदेखि लगाउन सुरु भएको छ । कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।
उपमहानगरपालिकाले २३ वटै वडा कार्यालयमार्फत कोभिशिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।
शुरुमा भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप भारतले रोकेपछि सोही प्रकारको खोप सरकारले जापानबाट ल्याएको हो । एस्ट्राजेनेका नामको उक्त खोप भारतमा कोभिशिल्डको नामले उत्पादन हुँदै आएको छ ।
२०७७ फागुन २३ गतेदेखि २८ गतेसम्म र अन्य मितिमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइने हो । खासगरी ६५ वर्षमाथिका जेष्ठ नागरिकले फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका थिए । बाँकेमा २० हजार ८ सयबढीलाई कोभिशिल्डको दोस्रो डोज लगाउने कार्यक्रम छ । ।