क्यान्सर र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई लुम्बिनी सरकारले २ लाख दिने

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७८, शुक्रबार

बुटवल: कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एक एक वटा पोर्टेवल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्सको उपलब्ध गराउने निर्णय पनि गरेको मन्त्री कृष्णध्वज खड्काले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ ।

यस्तै कोभिड १९ का बिरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारी साधन एम्बुलेन्सको व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

यसैगरी कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्दार गर्ने पनि निर्णय गरेको छ । यसैगरी कोभिड १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशबासी जनतालाई खोपको सुनिश्चिता गर्न विशेष व्यवस्था गर्ने निर्णय भएको मन्त्री खड्काले बताउनुभयो ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech