धनगढीः धनगढीको सेती प्रादेशिक अस्पतालमा जटिल समस्या लिएर उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
असारमा गम्भीर खालका संक्रमित नदेखिएपनि साउनको पहिलो सातादेखि अस्पतालमा गम्भीर खालका समस्या भएका संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेको हो ।
प्रदेशकै रेफरल अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले आईसीयू, भेन्टिलेटर र अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित बढेका छन् । अस्पतालमा उपचाररत संक्रमितको संख्या २७ पुगेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । साउनदेखि गम्भीर संक्रमितको संख्या बढ्न थालेको उहाँको भनाइ छ । अहिले बढीजसो अक्सिजन सपोर्ट चाहिने संक्रमित छन्।
श्रेष्ठका अनुसार चार जनाको भेन्टिलेटर, दुईजनाको आईसीयूमा उपचार भइरहेको छ भने पाँच जनालाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । अन्य १० जना संक्रमितको पनि अक्सिजन सपोर्टमा उपचार भइरहेको छ।
पछिल्लो समय १० देखि १४ वर्ष उमेर समूहका बालबालिका पनि संक्रमित भएर उपचारका लागि अस्पताल पुग्न थालेको श्रेष्ठले बताउनुभयो ।
झण्डै एक महिनासम्म कोरोना संक्रमणबाट मानवीय क्षति नव्यहोरेको सुदूरपश्चिम प्रदेशमा गम्भीर संक्रमित बढेसँगै मृत्यु हुने क्रम पनि सुरु भएको छ । अस्पतालमा २२ साउनमा एकैदिन दुई जना संक्रमितको मृत्यु भएको छ भने २५ साउनमा पनि एक जनाको मृत्यु भएको छ ।