विस २०५१ साल चैत अन्तिमतिर भेरी अस्पतालमा नर्स पदमा नियुक्त भए । त्यतिबेला जापानीज इन्सेफलाईटिसका बिरामीहरु फाटफुट देखिन थालिसकेका थिए । बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लामा इन्सेफलाईटिसले ५० को दशकपछि सताउन सुरु गरिसकेको थियो ।
२०५२–५३ देखि २०५६–५७ सालसम्म यसले महामारीकै रुप लियो । कोभिड–१९ को महामारीले जसरी विश्वभरी संकट निम्त्यायो त्यसरी इन्सेफलाईटिसले विश्वभरमै संकट त निम्त्याएन । तर उल्लेखित जिल्लाहरुमा भने विकरालरुप लियो । दोस्रो लहरमा कोभिडका बिरामीहरुलाई उपचार व्यवस्थापनमा जुन ढंगले समस्या झेल्नु प¥यो त्योभन्दा बढी समस्या इन्सेफलाईटिसको महामारीमा हामीले झेलेका थियौं ।
इन्सेफलाईटिसका बिरामी अस्पतालमा थपिनेक्रम बढ्दै गयो । अवस्था यहाँसम्म पुग्यो बिरामी हल, पेइङ्ग वार्ड, कोलिया सबै भरिए । मलाई लाग्छ दुई ढाई सयसम्म इन्सेफलाईटिसका बिरामी अस्पतालमा भर्ना भए । असार–साउनको महिना । नेपालगन्जको त्यो उखरमाउलो गर्मी । न एसी थियो न त पंखा नै राम्रोसँग चल्थ्यो । अहो ! सम्झिदा पनि शरीरमा काँडा फुलेर आउँछ ।
इन्सेफलाईटिसका ६० प्रतिशत बिरामी त अनकन्सेस हुन्थे । आफै सोच्नुस् त्यतिबेला स्वास्थ्यकर्मीहरुले कसरी महामारीसँग जुधे होलान् ? जनशक्तिको निकै अभाव थियो । एउटा सिफ्टमा दुईजना नर्स हुन्थ्यौं । दुईजना नर्सलाई ति अनकन्सेस बिरामीलाई हेर्न कति गाह्रो हुन्थ्यो होला । ६–६ घण्टामा दिनु पर्ने पेनिसिलिन इन्जेक्सन खोल्दा खोल्दा हातमा ठेला उठ्थे । क्यानुला त कति लगाउनु पथ्र्यो–पथ्र्यो । लगाएका क्यानुला बिरामीले जवरजस्त निकाल्थे–फाल्थे । ड्युटीको ठेगाननै हुन्थेन ।
कहिले ८ घण्टा कहिले १० त कहिले १२–१४ घण्टासम्म पुग्थ्यो । बिरामीलाई इन्जेक्सन दिन नै ४–५ घण्टा लाग्थ्यो । एक किसिमले भन्ने हो, भने कोभिड महामारी बिर्साउने महामारी थियो इन्सेफलाईटिस । त्यो धपडीले शरीर लर्थक्क गल्थ्यो । पेनिसिलिन इन्जेक्सन खोल्दा–खोल्दा ठेला परेका हातको दुखाईले बेचैन बनाउथ्यो । न भोक, न त प्यास, न निद्रा । कहिले काँही यस्तो लाग्थ्यो अव जागिर नै छोडिदिउँ ।
तर आफ्नो पेशागत धर्मले बाँधिरह्यो । हाम्रो पेशागत धर्म नै सेवा हो । यस्ता महामारीमा त झन हाम्रो जरुरत हुन्छ । जागिर छाड्नु भनेको युद्धबाट भाग्नुजस्तै हो । त्यसैले महामारीमा ज्यानको प्रवाह नगरी होम्मिएकी थिए । कैयौं अनकन्सेस बिरामी होसमा नआएर मृत्युवरण गर्थे । औषत ५–७ जना बिरामीको दैनिक इन्सेफलाईटिसबाट मृत्यु हुन्थ्यो । आज जस्तो न आईसीयू थियो न त भेन्टिलेरको सुविधा ।
सायद आईसीयू र भेन्टिलेरको सुविधा भइदिइएको भए धेरै बिरामीहरुलाई बचाउन सकिन्थ्यो झै लाग्छ । त्यतिबेला अहिलेजस्तो संचारको सहज पहुँच थिएन् । धेरै कुराहरु बाहिर आउथेन् । इन्सेफलाईटिसको महामारीले पनि भयावह अवस्था सिर्जना गरेको हो ।
तर पनि जुध्यौं, लड्यौं र त्यो महामारीसँग विजयी हासिल ग¥यौं । इन्सफलाईटिस महामारीको चरण पार गरेर आयौं । त्यसको करिव दुई दशकपछि अहिले हामी कोभिड महामारीसँग जुधिरहेका छौं । कुनै पनि महामारी एक हदसम्म उच्च विन्दुमा पुग्छ । त्यसपछि क्रमशः तल झर्दै जान्छ । एकदिन कोभिड–१९ को महामारीपनि सकिने छ । हामी विजयी हुने छौं ।
(भारता, भेरी अस्पतालकी लेभर रुम इन्चार्ज हुनुहुन्छ)