सरकार र एडीबीबीच १ करोड ५९ लाख डोज कोभिड खोप खरिदका लागि ऋण सम्झौता

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७८, बुधबार

काठमाडौंः कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ।

बुधवार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ। यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन्।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउदै उहाँले यसमा एशियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिनुभयो ।

यस बाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech