कञ्चनपुरमा किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालन

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७८, बुधबार

कञ्चनपुरः किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले रु १५ लाखको लगानीमा स्वास्थ्य कार्यालयमा सो ल्याब स्थापना गरेको छ।किटजन्य रोग बाहकका रूपमा रहेका लामखुट्टे र भुसुनाजस्ता किटाणुबारे जानकारी लिन सुदूरपश्चिम प्रदेशमै पहिलोपटक सो ल्याब स्थापना गरिएको राजपुरस्थित डोटी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताउनुभयो।

औलो रोग फैलाउने एनोफिलिज लामखुट्टे र कालाजार रोग फैलाउने भुसुनाका बारेमा विस्तृतरूपमा अध्ययन गर्न ल्याब सहयोगी हुने निर्देशक अवस्थीको भनाइ थियो। कञ्चनपुरमै औलो माइक्रोस्कोपिक तालीम केन्द्रसमेत रहेको छ। यी दुवै ल्याब एकैठाउँमा स्थापना गरिएकाले विभिन्न किटजन्य रोग निवारणका लागि सहयोगी हुने भएको छ। आर्थिक वर्ष २०७८र७९ मा प्रदेश स्वास्थ्य निर्देशनालयले औलो रोग बढी फैलिएका क्षेत्रमा हरेक महिनामा एक हप्ताको कार्यतालिका बनाई १२ महिनासम्म लामखुट्टेको आनीबानी अध्ययन गर्ने भएको छ।

कार्यक्रमअनुसार यही साउन २५ गतेदेखि भीमदत्त नगरपालिका-९ र १० लाई केन्द्रविन्दु मानी औलो रोग सार्ने लामखुट्टेको अध्ययन शुरु गरिएको निर्देशनालयका स्रोतव्यक्ति हेमराज जोशीले बताउनुभयो। यसबाट लामखुट्टेको नयाँ प्रजाति पहिचान हुनाका साथै आनीबानीसमेत थाहा हुने र किटनाशक विषादी तथा किटनाशक झुलको प्रभावकारिताबारे पनि अध्ययन गर्न सकिने उहाँको भनाइ थियो।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech