‘दुःख, पीडा र अभावले दिएको त्यो खुसी’

हे भगवान ! मेरो खुसीमा किन तेरो आँखा लाग्यो ? हरपल किन मलाई पीडा दिन्छस् ? भगवानलाई खुव गाली गरे, रोए । तर आफै सम्हालिनुको विकल्प थिएन ।


    • सुनिता कुमारी सहकारी 

  • २७ श्रावण २०७८, बुधबार

कतिको लागि जीवन एउटा संघर्षको गोरेटो हो भने कतिलाई मोजमस्तीको मेला। तर जीवनको परिभाषा कसले कसरी बाँच्छ त्यसैले त्यसैले तय गर्दो रहेछ । कहिलेकाँही लाग्छ, मेरो जीन्दगी पनि त्यही दुःखको महासागरमा रुमलिरहेको एक  डुँगा हो । खुसीले फुरुङ्ग भएका पलहरु मेरो जीवनमा लामो समय कहिल्यै टिकेनन् ।

हो, म सुनिता सहकारी । कालीकोटको नरहरीनाथ गाउँपालिकामा २०५१ मा जन्मेकी । हामी चार भाइबहिनी । दुई दिदीबहिनी र दुई दाजुभाई । दुर्गममा भएपनि हाम्रो सानो र सुखी परिवार थियो । हुन त मृत्यु नै शास्वत सत्य हो, तर कुनै मृत्यु निकै पीडादायक हुँदा रहेछन् । मैले २६ वर्षकी दिदी र २० वर्षको कलिलो दाई गुमाए । मेरो दिदीको अत्यधिक रक्तश्रावका कारण समयमा उपचार नपाएर मृत्यु भयो भने दाईको दुवै मृगौला फेल भएर बित्नुभयो । 

हाम्रो परिवारको निम्ति ठूलो बज्रपात थियो । तर पनि आफू बाँचुन्जेल जिन्दगी चलि नै रहने रहेछ, वा चाहेर नचाहेर पनि धकेल्नै पर्दो रहेछ । दुखसँग नजिकबाट साक्षात्कार गर्दै हुर्केको भएर होला म सानैदेखि अलिक भावुक थिएँ, संवेदनशील थिएँ ।

 केही बुझ्ने उमेर भएपछि गाउँमा मानिसहरु बिरामी पर्दा उनीहरुले पाएको दुःख र पीडाले मेरो मनलाई चस्स् घोच्थ्यो। समयमै उपचार पाएको भए दिदी र दाईलाई बचाउन सकिन्छ की भन्ने पनि लाग्थ्यो । गाउँमा स्वास्थ्य उपचारको गतिलो प्रबन्ध थिएन । सदरमुकाममै त एमबिबिएस डाक्टर दुर्लभ थिए भने गाउँका स्वास्थ्य चौकीको के कुरा गर्नु ? कि त स्वास्थ्यकर्मी हुँदैनथे, उनीहरु भए पनि औषधिको नाममा सिटामोल समेत सहजै उपलब्ध हुँदैनथ्यो । सामान्य बिरामी हुँदा पनि उपचारका लागि सुर्खेत वा नेपालगन्ज जानु पर्ने बाध्यता थियो ।

मेरो कलिलो मस्तिष्कले त्यतिबेला नै मानव जीवनमा स्वास्थ्य सेवाको महत्व बुझ्ने मौका पाइसकेको थियो । आफ्नो क्षमता र गच्छेले भ्याएसम्म स्वास्थ्य सम्बन्धि विषय पढेर आफ्नो जीवन बिरामीको सेवामा समर्पित गर्छु भन्ने अठोट गरें। 

जनता माध्यमिक विद्यालयबाट २०६५ सालमा एस.एल.सी.उत्तीर्ण गरें। नतिजा राम्रो आयो भने मात्रै नर्सिङ पढ्न पाउने भएकाले मनमा अलिअलि ढुकढुकी थियो, तर  म द्धितिय श्रेणीमा उर्तिण हुन सफल भए, । नतिजाले नर्सिङ पढ्ने बाटो खुल्यो तर घरको आर्थिक स्थितिले गन्तव्यमा हिड्न सहज थिएन । आर्थिक अभावकै कारण मैले नर्सिङ पढ्ने सपनालाई मनमै दबाउनु पर्यो अनि सोहि स्कुलमा कक्षा ११ मा भर्ना भएँ । 

तर नर्सिङ पढ्ने हुटहुटी भने कायमै थियो । मैले मेरो सपनालाई स्थगन मात्र गरेकी थिएँ, छाडेकी थिइन। पैसा तिर्न नसकेपनि छात्रवृत्तिमा नाम निकाल्न सकें भने मैले मेरो सपना पछ्याउन सक्थें । त्यसैले कक्षा ११ पढ्दै गर्दा पनि मैले नर्सिङको प्रवेश परीक्षाको निम्ति तयारी जारी राखेकी थिएँ । दैवले पनि “त आँट म पुर्याउँछु” भन्छ भन्थे, हो रहेछ । छात्रवृत्तिमा नर्सिङ अध्ययनको लागि मेरो नाम निस्कियो ।

ओहो त्यो खुसी ! मेरो लागि त्यो नतिजा छात्रवृत्तिमा पढ्न पाउने अवसर मात्र थिएन । आफूले बर्षौैदेखि मनमा सँगालेका चाहनाहरू फक्रेको मौसम थियो । खुसीमा म रोएँ, चिच्याएँ, उफ्रिएँ । उडु कि गुडु जस्तै भयो । चिच्याएर भन्न मन लाग्यो अव म नर्स भएँ …। 

नर्सिङ पढ्नका लागि नाम त निस्क्यो तर त्यहि समय घरमा मेरो विहेवारीको कुराकानी सुरु भइसकेको थियो । हाम्रो समाजमा छोरी हुर्किन थालेपछि अभिभावकलाई शिक्षादिक्षाको भन्दापनि विहेवारीको बढी चिन्ता भैहाल्छ । बुवाआमाले मेरो विहेवारीको मिति पक्का गरिदिनुभएछ । मैले नाई भन्न् सकिन । दिदी र दाईको निधनले भाँचिएको बुवाआमाको मनलाई मैले थप कुँड्याउन चाहिन । चुपचाप जिम्मेवारीको सिक्रीमा आँफुलाई बाँधिन समर्पित गरें।

आफ्नै गाउँका भरतबहादुर बुढासँग मेरो विहे भयो । त्यतिबेला लागेको थियो, अब नर्स बन्ने सपना चकनाचुर भयो । छोरीमान्छे विहेपछि कसरी पढ्ने ? तर श्रीमानले मेरो चाहनालाई रोक्नु भएन । उहाँले हमेशा मलाई  प्रोत्साहन, शाहस, आड भरोषा दिनुभयो । २०७२ सालमा सर्टिफिकेट नर्सिङ उत्तीर्ण गरे ।

मेरो खुसी दैवलाई सह्य भएन। मेरो श्रीमान् बिरामी पर्न थाल्नुभयो । उपचार गर्दै जाँदा उहाँलाई ब्लड क्यान्सर भएको प्रमाणित भयो । मेरो जीवनमा एकाएक कालो बादल मडारियो । मैले टेकेको जमिन भासिन लाग्यो । हे भगवान ! मेरो खुसीमा किन तेरो आँखा लाग्यो ? हरपल किन मलाई पीडा दिन्छस् ? भगवानलाई खुव गाली गरे, रोए । तर आफै सम्हालिनुको विकल्प थिएन । छोरो जन्मिसकेको थियो । एकातिर म बेरोजगार थिएँ भने अर्कोतिर श्रीमानको त्यो दशा । जिन्दगी धान्नका खातिर म नेपालगन्जका धेरै प्राइभेट क्लिनिकमा जागिरको याचना गर्दै हिंडे । तर कसैले पनि मेरो बाध्यतालाई बुझेनन् । हुन त भाग्यले ठगिएकीले  कोसँग पो के सिकायत गर्नु ? उनीहरूलाई आबश्यक थिएन, लिएनन् ।

कोरोनाको पहिलो लहर सुरु भएपनि भेरी अस्पतालले करारमा स्टाफ नर्सको निम्ति बिज्ञापन खोल्यो ।कोभिडको त्रास यसरी फैलेको थियो कि धेरैले कोभिड वार्डमा काम गर्नु पर्छ भनेरै फारम भरेनन। मेरो लागि भने यो अवसर, चुनौति र बाध्यता सबै नै थियो। फारम भरें, छनौट भएँ अनि सुरु भयो मेरो जीवनको एक अर्को अध्याय।

जागिरे जीवनको पहिलो दिन । पहिलो ड्यूटी नै  कोभिड आईसीयूवार्डमा । जीवनको संघर्ष र नियतिसँगको घश्रणले मलाई निकै कठोर बनाइसकेको रहेछ। अहँ मलाई डर कत्ति पनि लागेन । जागिर पाएकोमा र त्यो पैसाले श्रीमानको उपचार गर्न मद्दत हुने आशाले थप शान्ति पनि मिलेको थियो । आफूले सानै देखि बोकेको सपना साकार हुँदाको खुसी र आफूले पढाइको क्रममा सिकेको ज्ञान, शीप कोभिड बिरामीको हेरचाहमा लगाउन पाउँदा मलाई रत्तिभर पनि थकान महशुस हुँदैनथ्यो। त्यहि उर्जाले मलाई बिरामीको उपचारमा अहोरात्र खटिने शक्ति दियो।

मेरो श्रीमानको अवस्थाबारे थाहा पाएपछि मनकारीहरुले केही आर्थिक सहयोग गर्नु भएको थियो । त्यही रकम जोरजाम गरेर गएको माघ महिनामा श्रीमानलाई उपचारको निम्ति काठमाडौं लगें । पाटन अस्पतालमा शल्यक्रियाको तयारी थियो । दुर्भाग्य – श्रीमानको निधन भयो । विहे गरेको ८ बर्षमै मेरो सिउँदो पुछियो । 

श्रीमान भन्नु हुन्थ्यो–सुनिता ‘तिमीले धेरै मान्छेहरुको जीवन बचाउनु छ ।’ तर आज मैले आफ्नै श्रीमान बचाउन सकिन् । म निर्लज्ज भए । लाग्यो जीवन यही मेटाइदिउ । तर मर्न त्यति सजिलो कहाँ हुँदोरहेछ र  ? हाम्रो मायाको निशानी ६ वर्षको छोरो थियो । उसको लागि भएपनि म बाँच्नु पर्छ भन्ने लाग्यो । श्रीमान् को अन्तिम संस्कार काठमाडौंमै गरेर म पुनः कर्मस्थल भेरी अस्पतालमा फर्किए ।

त्यतिबेला संक्रमित बिरामीले बेडहरु खचाखच थिए । मृत्युसँग लडिरहेका ती संक्रमितको उपचारमा सके जति खटिए । यो खटाई अहिलेपनि चलिरहेको छ । अस्पतालका सबै सिनियरदेखि जुनियर, उपल्लोदेखि तल्लो तहका कर्मचारी, चिकित्सक सबैको माया, सद्भाव पाइरहेकी छु ।

एक महिना अघिमात्रै म मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७७ बाट सम्मानित पनि भए । एकलाख राशीको त्यो पुरस्कारसहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट ग्रहण गर्ने सौभाग्य प्राप्त गरे । यो सम्मानले मलाई आफ्नो पेशाप्रति झन जिम्मेवार बनाएको महसुस भएको छ । दुःख, पीडा र अभावले एउटा खुसी दिएको महसुस गरेकी छु ।  

(सुनिता भेरी अस्पतालकी स्टाफ नर्स हुन् )

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech