कोरोना भाइरसको संक्रमण घटाउन डा प्रभातका चार विकल्प

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७८, मंगलवार

नेपालगन्जः वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या विस्तारै घट्दै गएको थियो । यो संख्या असार २० मा १,६०३ जनामा झर्‍यो । त्यसयता केही समय स्थिर र त्यसपछि क्रमश संक्रमितको संख्या बढ्दै मंगलबार ४९०४ मा पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९,१२३ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ४,९०४ जनामा संक्रमण पुष्टि भएको छ । यो भनेको प्रत्येक चार जनामा गरेको परीक्षणमा एक जना संक्रमित हुनु हो ।

मंगलवार थपिएको यो संक्रमित संख्या दोस्रो लहरको न्युनतम विन्दुमा फेला परेको संक्रमित संख्याभन्दा तीन गुणाले बढी हो भने जेठ २६ गतेयताकै उच्च संख्या पनि हो ।

जेठ २६ गतेको अघिल्लो दिन १७,६७६ नमुना परीक्षण गर्दा ५,१५३ जनामा संक्रमण पुष्टि भएको थियो ।

वैशाख २८ गतेयता लामो समय संक्रमण स्थिर रह्यो । त्यसको झण्डै दुई महिना पछि असार २० गते १,६०३ संक्रमित फेला परेको थियो ।

संक्रमण दर २० प्रतिशतभन्दा माथि नै कायम रहेको अवस्थामा निषेधाज्ञामा खुकुलो बनाइएको र नागरिकले जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गरेकाले संक्रमण घट्नुको साटो बढ्दै गएको संक्रामक रोग विशेषज्ञ डा प्रभात अधिकारी बताउँनुहुन्छ ।

के भन्छन् विज्ञ ?

बढी संक्रामक डेल्टा भेरियन्ट समुदायभित्र यथावत रहेको अवस्थामा निषेधाज्ञा खुकुलो भएकाले संक्रमण बढ्न पुगेको संक्रामक रोग विशेषज्ञ डा प्रभात अधिकारी बताउँनुुहुन्छ ।

संक्रमण दर २० प्रतिशतभन्दा माथि नै कायम रहेको अवस्थामा निषेधाज्ञामा खुकुलो बनाइएको र नागरिकले जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गरेकाले संक्रमण घट्नुको साटो बढ्दै गएको उहाँको भनाइ छ ।

निषेधाज्ञाको समयमा सोचे जति संक्रमण घटाउन नसकिएको उनी बताउँछन् । ‘निषेधाज्ञाको समयमा संक्रमण दर ५ प्रतिशतमा झारेर खुकुलो बनाउन पाएको भए अहिले सहज हुन सक्थ्यो ।

संक्रमण कसरी घटाउन सकिन्छ ?

पहिलो लहरमा भेटिएको भाइरसभन्दा दोस्रो लहरमा भेटिएको डेल्टा भेरियन्ट तीन गुणा बढी संक्रामक रहेको छ । बढ्दो क्रममा रहेको संक्रमण घटाउनका लागि उहाँको चारवटा सुझाव छ ।

पहिलो, छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउने ।

दोस्रो, जोखिम क्षेत्रको पहिचान गरी स्मार्ट लकडाउन गर्ने । दैनिक संक्रमित पहिचान हुने संख्या, संक्रमण दर, भौतिक पूर्वाधार एवं जनशक्तिको क्षमतालाई पहिचान गरी जोखिम क्षेत्रमा मात्रै स्मार्ट लकडाउन गर्नुपर्ने उहाँको सुझाव छ ।

तेस्रो, समुदायमा पहिचान भएका संक्रमितलाई आइसोलेट गरी कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षणको दायरा फराकिलो पार्ने ।

चौथो, सर्वसाधारण नागरिकमाझ जनेचताना फैलाउने । जनस्वास्थ्यका मापदण्ड पालना लगायत संक्रमितको क्लोज कन्ट्याक्टमा परेको अवस्थामा आफैं आएर परीक्षण गराउन योग्य बनाउन सके समुदायमा संक्रमण फैलनबाट जोगाउन सकिन्छ ।

 

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech