खोप खरीदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न संसदीय समितिको निर्देशन

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७८, सोमबार

काठमाडौंः संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले कोभिडविरुद्धको खोप खरीदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरीदमा अनियमितता भए÷नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

खोप खरीदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरुले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘खोपमा अनियमितता भएको कुरा विभिन्न सञ्चार माध्यामहरुमा आईरहेको अवस्थामा सोको छानबिन गरी दोषी प्रमाणित भएमा कानुनको दायरामा ल्याउन सरकारलाई निर्देशन गरिन्छ ।’

समितिले कोभिडको तेस्रो लहर आउन नदिने गरी पूर्व तयारीका लागि आवश्यक सामग्रीहरुको उचित प्रबन्ध गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

सभापति जैरुले कोभिड संक्रमितहरुको संख्यामा वृद्धि हुन लागेकाले उनीहरुको उपचार तथा तेस्रो भेरियन्ट आउन नदिने गरी तयारी गर्न पनि सरकारलाई भनिएको स्पष्ट पार्नुभयो ।बैठकमा समितिका सदस्यहरुले सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech