भेरी अस्पतालमा कोरोना संक्रमित थप तीनजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीनजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा दुईजना पुरुष र एकजना महिलाको मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीका अनुसार संक्रमणका कारण लुङग्री गाउँपालिका ६ रोल्पाका ५८ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका १५ दाङका ४५ वर्षीय पुरुष र भेरीगंगा नगरपालिका १० सुर्खैतका ३९ वर्षीय महिलाको मृत्यु भएको हो । रोल्पाका पुरुषलाई असार २९ गते कोभिड पुष्टि भएको थियो । अस्पतालमा उपचारका लागि असार २८ गते नै भर्ना हुनुभएका उहाँको आज बिहान २ बजे मृत्यु भएको हो ।

त्यस्तै तुलसीपुर दाङका ४५ वर्षीय पुरुषलाई श्रावन २१ गते कोरोना संक्रमण पुष्टि भएपछि २२ गते उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान ८:३० बजे मृत्यु भएको हो ।

श्रावन ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिन भेरीको कोरोना वार्डमा भर्ना हुनुभएका सुर्खेतका ३९ वर्षीया महिलाको आजै बिहान ८:४५ बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिनुभयो ।

योसँगै हालसम्म कोरोना संक्रमण पछि उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेमा आएका ३८६ जनाको मृत्यु भएको छ । संक्रमणको जोखिम टरिनसकेकाले स्वास्थ्य मापदण्डको सहि रुपमा पालना गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

 

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech