नेपालगन्जः कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् ।
भुटानले शुक्रबार ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागेको हो।
बाँकेमा २० हजार ८ सय बढी जेष्ठ नागरिक दोस्रो डोज खोपको पखाईमा छन् । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा झलक शर्मा गौतमका अनुसार जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई लट गरेर आउँदैछ ।
‘चार–चार लाख गरेर ८ लाख डोज खोप आगामी दुई दिनमा आउँछ र बाँकी ८ लाख डोज खोप १० दिनपछि पठाउने भनिएको छ’ डा गौतमले भन्नुभएको छ। साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने बताउनुभयो ।
गौतमका अनुसार खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।
फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।