नेपाल सरकारले कोरोना विरुद्ध लड्नका लागि विभिन्न खोपहरु अनुदान र खरिद गरि आमजनता सम्म पु¥याइरहेको छ । विश्वको तथ्याङ्क हेर्ने हो भने हाल सम्म २९.४ % नागरिहरुले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् भने १५% ले पूर्ण डोज खोप लगाइसकेका छन् । नेपालमा भने कोभिसिल्ड, भेरोसेल र जानसेनका खोपहरु प्रयोगमा ल्याइएको छ ।
पछिल्लो तथ्याड्ढ हेर्ने हो भने हाल सम्म ४,६०,३०८ जनालाई कोभिसिल्डको पुरा डोज, ७,३२,९२२ जनालाई भेरोसेलको पुरा डोज र ९,३७,६७० जनालाई जानसेनको पुरा डोज लगाई सकिएको छ । जसअनुसार २१,३०,९०० जनालाई पुरा डोज लगाई सकिएको छ भने, १८,२८,४८४ जनालाई कोभिसिल्डको पहिलो डोज र २५,३०,७९६ जनालाई भेरोसेलको पहिलो डोज लगाई सकेको छ ।
यसरी हेर्दा ४३, ५९,२८० जनाले पहिलो डोज लगाई सकेका छन् । अब कोभिसिल्ड र भेरोसेलको पहिलो डोज लगाएका र दोस्रो डोजको पखाईमा ३१,६६,०४७ जना रहेका छन् । हाल सम्म पुरा डोज लगाउने अनुमानित जनसंख्याको जम्मा ७% मात्र हुन्छ भने, पहिलो डोज लगाउने मात्र १४.३% रहेका छन् । बाँके जिल्ला पहिलो लहरको उद्गम स्थल र दोस्रो लहरको हट स्पट जस्तै नै रहयो ।
पछिल्लो तथ्याङ्क अनुसार बाँकेमा गरिएका ८९८१३ पि.सि.आर जाँच मध्य १७६९३ पोजेटिभ भए । बाँकेमा ३२२ जना जिल्ला भित्रका र ३८१ जना जिल्ला बाहिरका गरि ७०४ जनाको कोरोनाको कारण मुत्यु भएको देखिन्छ । बाँकेमा पुरा डोज खोप लगाउनेको संख्या ५०,४०७ मात्र रहेको छ । अर्थात जम्मा जनसंख्या ३,५१,६६३ को जम्मा १४.३३प्रतिशतले मात्र खोप लगाएका छन् । बाँकेमा पहिलो डोज लगाउनेको संख्या भने २९.१२ प्रतिशत रहेको छ ।
बाँकेमा खोपको प्रगति राष्ट्रिय स्तरभन्दा राम्रो देखिन्छ, यो प्रगतिले आउदा दिनहरुमा बाँके जिल्लालाई कोरोनालाई परास्त गर्न सहज हुने अनुमान गर्न सकिन्छ, । तर विज्ञहरुको अनुमान र अन्य देशहरुको अवस्था हेर्दा अबको तेस्रो लहरमा बालबालिका प्रभावित हुन सक्ने देखिन्छ जसका लागि न कुनै भ्याक्सिन सिफारीस गरिएको देखिन्छ । अरु देशहरुको तुलना गर्नेहो भने हाम्रो देशमा कोरोना विरुद्ध खोप लगाउन पाउँनेको संख्या निकै न्युन रहेको तथ्याङ्कले देखाउछ, न्युन संख्या रहे पनि गुणस्तरीय रुपमा लगाएको भए अझ प्रभावकारी हुनेछ ।
खोप सबैका लागी आवश्यक रहे पनि खोपका लागि विभिन्न उमेर, जोखिम तथा लक्षित समुहहरु पनि तोकिएको छ तर खोप भने उल्लेख भए बमोजिम भन्दा पनि पहुँचका आधारमा लगाइएको गुनासो पनि आउने गरेको छ । हाल सम्म जति पनि नागरिकले खोप लगाए ति सवै टाठा बाठा र पहुँच भएकाहरु नै रहेका छन् त्यसमा न लक्षित समुह छन् नत सरकारले तोके बमोजिमका उमेर समुह नै रहेका छन् भन्ने कुरा मानिसहरुले गफिदै गरेको पनि सुन्न पाईन्छ ।
केहि नागरिक भने दोस्रो चरणमा अत्याधिक मुत्यु भएको देखि त्रासका कारण पनि खोप लगाउन हतार गरि खोप लगाएको देखिएको छ । सरकारको निर्देशन हेर्दा स्वास्थ्यकर्मी तथा सरसफाईकर्मी, ५० बर्ष भन्दा माथिका आम नागरिक, विश्व विध्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न कर्मचारी, अपाङ्गता, सार्वजनिक स्थानहरुमा काम गर्ने व्यक्तिहरु, सुरक्षाकर्मीहरुले खोप लगाइसकेका छन् । र, केहि बाँकी रहेका छन् ।
खोप लगाउन धेरै नागरिकहरु बाँकी रहे पनि खोप सिमित ब्यक्तिहरुले मात्र लगाउने निश्चितनै देखिन्छ । कोरोना विरुद्धको खोप लगाउनु पर्छ भन्ने बुझेका, सक्रिय, पहुँच भएका, टाठा बाठा, नागरिक मध्य धेरैले लगाई सकेका र सिमित मात्र छुटेको सहजै अनुमान लगाउन सकिन्छ किन भने खोप केन्द्रमा सरकारले तोकेको उमेर समुह र लक्षित समुह भन्दा अन्य समुहका धेरै नागरिकले खोप लगाएको भन्ने गुनासो हरेक पटक सुनिन्छ ।
अबका दिनहरुमा यदि आवश्यकता अनुसारको खोप आयो भने पनि खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई निकै मेहनत गर्नु पर्ने छ किनभने स्वतस्फुर्त खोप लगाउने भन्दा पनि सम्झाएर, बुझाएर, कर गरेर र कानुनी दायरामा ल्याएरमात्र खोप लगाउने जमात धेरै देखिनेछ । विकसित देशहरुमा पनि ५०% देखि ६०% जनताले खोप लगाए पछि अन्यलाई खोप लगाउनका लागि विभिन्न प्रेरणा, प्रलोभन जस्तै विभिन्न सुविधा, चिठ्ठा, पैसा, बहिस्कार जस्ता कार्यहरु गरिएको छ ।
अन्तमा, कोरोना विरुद्ध खोपलगाउँदा, लाइनमा बस्ने, भौतिक दुरी, पालो पर्खने, आधा घण्टा आराम गरेर मात्र घर जाने भनेको भनाइमा मात्र सिमित नराख्न अनुरोध छ, साथै खोप पश्चात हुन सक्ने अवाञ्छित घटनाहरुको लेखाजोखा राख्न पनि निकै जरुरी छ, यसले समाजमा नकारात्मक प्रभाव पार्न सक्दछ ।
(योगी नेपालगंज उप महानगरपालिकाका स्वास्थ्यकर्मी हुन् )