नेपालगन्जः बाँकेमा मातृ तथा नवजात शिशु मृत्युदरको अवस्था कहाली लाग्दो देखिएको छ । आर्थिक वर्ष ०७६-७७ को भन्दा ०७७-७८ मा मातृमृत्यु दर झन्डै दोब्बरले बढेको छ ।
तीन वर्ष अघि मातृ मृत्युदर हवात्तै घटेको बाँकेमा पछिल्लो दुई वर्षमा कहाली लाग्दो अवस्थामा पुगेको स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७६-७७ मा १४ जना आमाले ज्यान गुमाएकोमा ०७७-७८ मा भने २५ जनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष ०७७-०७८ मा २ सय ११ जना नवजात शिशुको मृत्यु भएको तथ्यांक छ । ती सबै सात दिनभित्रका हुन् । शिशु मृत्युदर पनि ०७६-०७७ को तथ्यांक भन्दा १४ जनाले बढी हो । ०७६-०७७ मा १ सय ९७ नवजात शिशुको मृत्यु भएको तथ्यांक छ । जवकी आर्थिक वर्ष ०७७-०७८ मा २ सय ११ जना नवजात शिशुले ज्यान गुमाएका छन् ।
भारतसँग जोडिएको नरैनापुर गाउँपालिकाका चार जना मृतक आमाको तथ्यांक भने आउँनै बाँकी छ । भारत माइती भएका उनीहरुको उत्तै सुत्केरी हुन गएका बेला मृत्यु भएकाले तथ्यांक नआएको हो ।
बाँकेमा सबैभन्दा धेरै डुडुवा गाउँपालिकाका ७ जना आमाले ज्यान गुमाएका छन् । जानकी र नरैनापुर गाउँपालिकाका ५-५ जना र बैजनाथ गाउँपालिकाका ४ जना आमाले ज्यान गुमाएको श्रेष्ठले बताउनुभयो । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका १-१ जना आमाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरस महामारीका कारण डरले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराउँदा आमा तथा शिशु मृत्युदर बढेको उहाँको भनाइ छ । चालू आर्थिक वर्षमा बाँकेमा बाहिरी जिल्लाका १६ जना आमाले ज्यान गुमाएको तथ्यांक छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशबाट रिफर गरि आएका ती आमाहरुको उपचारका क्रममा अस्पतालमा र कतिपयको बाटोमा मृत्यु भएको पनि श्रेष्ठले बताउनुभयो ।