बझाङः बझाङ जिल्लाका विभिन्न स्थानीय तहमा चार वर्षको अवधिमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन्। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन्।
थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा छ÷छ वटा, सुर्मा, छविसपाथीभेरा, मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा तीनतीन वटा, साइपाल र खप्तडछान्ना गाउँपालिकामा पाँचपाँच वटा, तलकोट र दुर्गाथली गाउँपालिकामा सातसात वटा र वित्थडचिर गाउँपालिकामा आठ वटा गरी ११ वटा स्थानीय तहले जिल्लाभर ५६ वटा बर्थिङ सेन्टर निर्माण गरी सेवा सञ्चालन गरेका हुन्।
केदारस्युँ गाउँपालिकामा स्थानीय तह हुनुभन्दा अगावै बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताउनुभयो । स्थानीय तहका अनुसार पालिकाका वडालाई लक्षित गरेर बर्थिङ सेन्टर स्थापना भएका हुन्।
गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या घटेको छ। यसअघि बर्थिङ सेन्टर गाउँमा नभएको र स्वास्थ्यचौकी टाढा हुँदा घरमै सुत्केरी हुने गरेका थिए।