नेपालगन्जः सुदूरपश्चिममा पछिल्लो समय विगतभन्दा फरक लक्षण भएका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । यसअघिका दुई चरणमा भन्दा कोरोनाको लक्षण फेरिएको चिकित्सकहरुले बताएका छन् । विगतमा ज्वरो आउने र श्वासप्रश्वास सम्बन्धि समस्या देखिदै आएकोमा अहिले लक्षण फेरिँदै गएको चिकित्सकहरुको भनाइ छ ।
विगतमा ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, शरीर थाक्दै जाने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिने गरेको भएपनि अहिले कलेजो, आन्द्रालगायतमा असरसहितका संक्रमित देखिन थालेको सेती प्रादेशिक अस्पतालका फिजिसियन डा निराजनदत्त शर्माले बताउनुभयो ।
‘पछिल्लो एक डेढ महिना यता कोभिड संक्रमण भएका व्यक्तिमा पेट सम्बन्धि समस्या बढी देखिएको छ उहाँले भन्नुभयो–‘कलेजो, आन्द्रालगायतमा समस्या बढी देखिएको पाइएको छ ।’
सुदूरपश्चिममा हालसम्म करिव ४५ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । तीमध्ये ५ सय ७६ जनाको मृत्यु भएको छ । २८ लाख जनसंख्या रहेको सुदूरपश्चिममा हालसम्म ४ लाखले मात्रै खोप पाएका छन् । आगामी असोजसम्ममा ७० प्रतिशत व्यक्तिलाई खोप दिने प्रदेश स्वास्थ्य निर्देशनालयको योजना छ । ‘अहिलेसम्म ४ लाख २० हजार व्यक्तिले खोप लगाइसकेका छन् सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले भन्नुभयो–‘खोप उत्पादन बढेसँगै आयात पनि बढीरहेकाले असोजसम्म ७० प्रतिशतले खोप लगाइसक्ने छन् ।’
विगतमा संक्रमण भएका अधिकांशले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको थियो । हाल सबै जिल्लामा अक्सिजनको पर्याप्त व्यवस्थापन गरिएकाले अक्सिजनको अभाव भने नहुने निर्देशक अवस्थीको भनाइ छ । निषेधाज्ञा खुलेपछि गाउँघरदेखि सहर बजारसम्म चहलपहल बढेको छ ।
अर्कोतर्फ तेस्रो लहरको संक्रमण फैलिने त्रास बढेपनि जनस्वास्थ्यको मापदण्ड पालना भने हुन सकेको छैन् । मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, सरसफाईमा ध्यान दिने कुुरालाई मानिसहरुले बिर्सन थालेका छन् ।