अस्पतालका विभिन्न अवयव मध्ये अस्पताल फार्मेसी अत्यन्त महत्वपूर्ण अंग हो । योग्य, अनुभवि र दक्ष फर्मासिस्टहरुबाट चिकित्सकहरुको पुर्जी अनुसार औषधीकाे समुचित प्रयाेग (RATIONAL USE OF MEDICINES) बारे जानकारी दिइ औषधी बिक्रि वितरण गर्न अस्पताल फार्मेसीकाे स्थापना भएकाे हो ।
औषधिको उचित भण्डारण, व्यवस्थापन, विरामीलाई औषधीकाे उचित सेवन, असर, प्रतिअसर, परस्परमा देखिने प्रभावको बारेमा परामर्श दिनु यसकाे प्रमुख दायित्वहरू हुन । नेपालमा अस्पतालको सटरलाई भाडामा लगाइ फार्मेसी संचालनमा ल्याउँदा विभिन्न व्यापारिहरूले सटर भाडामा लिइ व्यापारिक उद्देश्य पुरा गर्न कमसल औषधि आपूर्ति गर्ने गरेको, बिरामीले महँगोमा औषधि किन्न परेको तथा औषधिकाे समुचित प्रयाेग बारे सुनिश्चिता हुन नसक्दा बिरामीहरू मर्कामा परेको भनि श्री सर्बोच्च अदालतबाट अस्पताल फार्मेसी स्थापना गर्न परमादेश जारी भएको थियो ।
त्यसैको कार्यान्वयन स्वरुप नेपाल सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७० जारि गरि देशभरकै सरकारी अस्पतालमा आफ्नै अस्पताल फार्मेेसी स्थापना गर्न निर्देशन जारी गर्यो । सरकारबाट परिपत्र आए पनि विविध कारणले गर्दा अस्पताल फार्मेसी स्थापना हुन नसक्दा र फार्मेसी सेवा निर्देशिका २०७० मा रहेकाे त्रुटीहरू सच्याउदै अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ जारी गरी देश भरका सरकारी अस्पतालमा आफ्नै अस्पताल फार्मेसी सँचालनमा ल्याउन आदेश दिएकाे थियाे ।
भेरी अस्पताल फार्मेसी
सिमित श्रोत तथा साधनको उपयोग गरेरै भए पनि फार्मेसी सन्चालन गर्ने दृढ संकल्प सहित भेरी अस्पतालका तत्कालिन मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिरेन्द्र बहादुर चन्द द्वारा साल २०७४ जेष्ठ १९ गते देखि भेरी अस्पताल फार्मेसीकाे सुरुवात भएको हो । एक जना फार्मेसी अधिकृत काे नेतृत्वमा ५ जना फार्मेसी सहायक सहित करार सेवामा लिइ यसको सुरुवात गरिएकोमा हाल थप जनशक्ति विकास गरी दुईवटा डिस्पेन्सिङग काउन्टरबाट सहुलियत दरमा बिरामी परामर्श सहितकाे फार्मेसी सेवा चौबिसै घन्टा दिइरहेकाे छ।
सेवाहरूः
भेरी अस्पतालको फार्मेसीबाट नियमित रुपमा ओपिडी र इन्डोरका औषधिहरू सहुलियत दरमा बिक्री वितरण बाहेक निम्न कार्यक्रमहरुको निम्ति निःशुल्क औषधी उपलब्ध गराइन्छ।
१. स्वास्थ्य बीमा कार्यक्रम
२. सामाजिक सेवा कार्यक्रम
- लक्षित वर्गहरू (गरिब, ज्येष्ठ नागरिक, एकल महिला, पिछडिएका क्षेत्र , अपाङ्ग) लाई निशुल्क औषधोपचार
- विपन्न वर्ग (कडा राेग जस्तै मुटु राेग, मृगाैला राेग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, Spinal injury, Head injury)
- वेवारिसे निःशुल्क औषधी उपचार सेवा
३. सिकलसेल एनिमिया कार्यक्रम
- थारु समुदायका प्रभावित बिरामीहरूलाई चिकित्सकको पुर्जा अनुसारको निशुल्क औषधी उपचार सेवा
४. निःशुल्क आकस्मिक औषधी उपचार सेवा
५. OCMC निःशुल्क औषधी उपचार सेवा
६. बिरामी परामर्श सेवा
७. अस्पतालको इन्डोरमा भर्ना भएका बिरामीहरूको निम्ति कुनै लक्षित वर्गमा नपर्ने तर औषधोपचार गराउन नसक्ने बिरामीहरुलाई समेत सम्बन्धित चिकित्सक र मेसुको सिफारिसमा निःशुल्क औषधी उपचार सेवा
औषधीको आपुर्ति कसरी गरिन्छ
- अस्पतालको खरिद कमिटीले औषधि खरिदको निम्ति खरिद योजना बनाउँछ
- अस्पतालमा सेवा लिन आउने बिरामीकाे राेगकाे प्रकृति अनुसार सवै विभागहरू सँग परामर्श गरी खरिद गर्नु पर्ने औषधिको लिष्ट तयार गरिन्छ ।
- WHO GMP certified औषधिहरू मात्र औषधि गर्नका निम्ति रीतपूर्वक टेन्डर आह्वान गरी सबै भन्दा सस्तो कबोल गर्ने फर्मलाई टेन्डर प्रदान गरिन्छ ।
- फार्मेसीमा औषधिको खपत तथा भण्डारणका आधारमा स्वीकृत बाेलपत्रदाताबाट खरिद आदेश दिइ औषधि खरिद गरिन्छ ।
औषधीको बिक्रि वितरण
- औषधि तथा औषधिजन्य सामग्रीहरू खरिद गरेकाे मुल्यमा २०% नबढाइ बिक्री वितरण गरिन्छ ।
- कुनै कुनै औषधिहरुमा एक पैसा समेत मार्जिन नराखि परल मूल्यमै समेत बिक्री गरिन्छ (जस्तै कोभिड महामारीको बेलामा रेम्डिसिभिर) ।
अस्पताल फार्मेसी संचालनका कठिनाइहरू
१. सडक, पुल, भवन बनाउने र मोटर/सिमेन्ट मसलन्द जस्ता निश्चित गुणस्तरका सामान र सेवा खरिद गर्ने नियम र औषधि जस्तो संवेदनशील सामग्री खरिदको निम्ति पालना गर्नु पर्ने सार्वजनिक खरिद ऐनका प्रावधानले गर्दा कतिपय अवस्थामा बिरामी र चिकित्सकले माग गरे अनुसारका औषधीहरु खरिद गरी उपलब्ध गराउन कठीन रहेको।
२. National Drug Policy 1995 अनुसार औषधि आपुर्ति गर्दा Generic name काे आधारमा गर्नुपर्ने तथा विशेष औचित्य भएमा बाहेक बिरामीलाइ खास ब्रान्ड ताेकी औषधि सिफारिस गर्न नहुने प्रावधान रहेकाे मा चिकित्सकहरुले प्रेस्क्राईब गरेका विभिन्न औषधीका ब्रान्डहरु अस्पताल फार्मेसीमा उपलब्ध भएका ब्रान्डसँग मेल नखान सक्छन् । वर्षौदेखि कुनै निश्चित ब्रान्डको औषधि खाइरहेका बिरामीहरू अर्को ब्रान्डमा सर्न खोज्दैनन। यसले गर्दा बिरामीहरूमा स्वीकार्यता सहज हुन सकेको छैन । साथै यसै समस्याका कारण फार्मेसीमा भएका ब्रान्डहरु विक्रि वितरण नभई म्याद सकिएर खेर जाने गरेको छ ।
३. निशुल्क औषधी वितरण कार्यक्रम (स्वास्थ्य विमा, सामाजिक सेवा इकाई, सिकलसेल एनिमिया आदी) मार्फत समयमै भुक्तानी नआउने समस्याले गर्दा औषधी खरिद प्रक्रियामा समस्या देखिनुका साथै उचित मात्रामा भण्डारण गर्न कठिनाई भईरहेको छ ।
समस्या समाधानका सम्भावित उपायहरु
पेशागत रुपले देशभरि नै फार्मेसी सम्बन्धी विभिन्न समस्याहरु भएतापनि अस्पतालले निम्न उपाय अपनाएको खण्डमा केहि हदसम्म भएपनि समाधान हुनसक्ने सम्भावना देखिन्छ ।
१. ड्रग एण्ड थेराप्युटिक्स कमिटिको बैठक निर्धारित समयमा बसी सम्बन्धीत विषय वस्तुमा छलफल गर्न र आवश्यकता अनुसारको परिमार्जनमा जोड दिने ।
२. हस्पिटल फर्मुलरी प्रकाशित गरि चिकित्सकहरुले औषधी Prescribe गर्दा हस्पिटल फर्मुलरीमा उल्लेखित ब्रान्डहरु भित्र पर्ने गरि Prescribe गर्ने वा सम्भव भए सम्म Generic name काे आधारमा औषधि सिफारिस गर्ने/गराउने ।
३. अस्पताल फार्मेसीले आपुर्ति गर्ने औषधीहरूकाे गुणस्तरमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
४. अस्पताल फार्मेसीमा आपुर्ति भएका औषधीहरू नेपाल सरकारबाट गुणस्तरिय सम्बन्धी मान्यता प्राप्त भएकाे र WHO GMP certified रहेकाे हुनाले ब्रान्ड Exchange काे स्वीकार्यता बढाउदै लैजाने सन्दर्भमा चिकित्सक तथा फार्मासिष्टकाे भुमिका अहम देखिन्छ ।
५. फर्मासिस्ट तथा फार्मेसी सहायकको लागि समयसमयमा नयाँ विषयवस्तु र फार्मेसी व्यवस्थापन सम्वन्धमा देश स्तरिय वा अस्पताल भित्रै तालिमको व्यवस्था गर्ने ।
६. अस्पताल फार्मेसी अन्तर्गत Drug Information Center तथा Pharmacovigilance cell स्थापना गर्ने र साथै Patient Counselling room संचालनमा ल्याउने ।
निश्कर्ष
भेरी अस्पतालबाट प्रदान गरिने सेवाहरु मध्ये फार्मेसी सेवा महत्वपुर्ण सेवाका रुपमा रहेको छ । अस्पतालले अन्य सेवाका अतिरिक्त फार्मेसी सेवा प्रदान गर्ने उदेश्यले आफ्नै फार्मेसी शाखा स्थापना गरि दक्ष जनशक्ति परिचालनका साथै सेवा पुर्याउन लागि पर्नु निश्चय नै राम्राे कदम हो ।
फार्मेसी सम्बन्धी समस्याहरुको निरन्तर अध्ययन, अनुगमन गरि अस्पतालमा आवश्यकता अनुसार गुणस्तरीय औषधीहरु सहुलियत मुल्यमा समयमा नै उपलब्ध गराई हेरफेर ल्याउने हो भने विरामीको लागि लाभदायक हुनेछ ।
नेपाल सरकार तथा अस्पताल फार्मेसी सन्चालन गर्ने अस्पतालहरुले आफ्नो संस्थाको प्राथमिक उदेश्य हरेक बिरामीको आवश्यकता अनुसारको सेवा नै हो । अस्पताल फार्मेसीलाई नाफा मुखि वा व्यवसायिक रुपले नहेरी सेवागत हिसाबले हेरिनु पर्छ ।