जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै भवानी अस्पतालमा तोडफोड

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७८, आईतवार

वीरगन्जः जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगन्जको भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ ।

मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण पनि गरेका छन् ।

प्रदशर्नकारीको आक्रमणबाट एक चिकित्सक र नर्सलाई चोट लागेको अस्पतालले जनाएको छ । तोडफोडका क्रममा सीसाले लागेर एक बिरामी कुरुवा महिला घाइते भएकी छन् ।

अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम रामलाई पक्राउ गरेको छ ।

चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उहाँको मृत्यु भइसकेको थियो ।

अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए । तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै प्रदर्शन गरेका थिए ।

दाह संस्कारका लागि घाट लैजानुअघि नुहाउने क्रममा महिलाको मुख चलेको दावी मृतकका आफन्त र गाउँलेको दावी छ ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech