नेपालगन्ज: बारबरा फाउन्डेशनले भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेसहित सात जनालाई विशेष सम्मान प्रदान गरेको छ । आज काठमाडौंमा विशेष समारोहका बीच उहाँहरुलाई सम्मान गरिएको हो ।
बारबरा फाउन्डेशनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड -१९ विशेष सम्मान प्रदान गर्ने क्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.पाण्डेसहित अस्पतालका मेसु डा.प्रकाश थापा, नर्सिङ अधिकृत शीला शर्मा, नर्सिङ स्टाफ मधु गुरुङ, एलिना विक, ल्याबका सह- इन्चार्ज प्रसिद्ध ढकाल र सरसफाइकर्मी कविता डिसीलाई विशेष सम्मान प्रदान गरेको हो ।
चिकित्सा क्षेत्रबाट डा.पाण्डे, अस्पताल प्रशासनबाट डा थापा, नर्सिङबाट शर्मा, गुरुङ र विक, प्रयोगशालाबाट ढकाल र सहयोगीको तर्फबाट डीसी सम्मानित हुनु भएको हो । डा पाण्डेलाई २ लाख ५० हजार प्रदान गरिएको छ । यस्तै नर्सिङ स्टाफ शर्मा, गुरुङ र विकलाई जनही १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ। यस्तै ढकाल र डीसीलाई जनही १-१ लाख नगदसहित सम्मान प्रदान गरिएको छ ।
यस्तै डा थापालाई पनि २ लाख ५० हजारसहित सम्मानित गरिएको छ । फाउन्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार संस्थागत विधातर्फ भरतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा सहित सातवटा संस्थालाई सम्मानित गरिएको छ ।
फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरेको छ । यस्तै २७ जना नर्सलाई १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ ।