नेपालगन्जः नेपालगन्ज फुलटेक्रास्थित फत्तेवाल आँखा अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीको झन्डै आधा तलव कटौती गरेको छ । कोरोना भाइरस महामारीका कारण जारी निषेधाज्ञाले बिरामीको फ्लो घटेको भन्दै अस्पतालले कर्मचारीको तलवमा भारी कटौती गरेको हो ।
अस्पतालले दोस्रो लहरको कोभिड महामारीपछि बैशाखदेखि ३५ प्रतिशत तलव कटौती गरेको छ । पहिलो लहरमा पनि अस्पतालले करिव ८० प्रतिशतसम्म तलव कटौती गरेको कर्मचारीहरुले गुनासो सुनाएका छन् ।
कोभिड महामारीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई प्रोत्साहन गर्नुको साटो झन तलव कटौती गरिएको भन्दै अस्पतालभित्रै प्रशासनको विरोध भएको छ ।
दोस्रो लहरको कोभिड महामारीमा यो अस्पताल एक दिनपनि बन्द भएन् । यहाँ भारतबाट समेत बिरामीहरु आइरहे । त्यस्तो जोखिमकाबीच सेवा दिएका कर्मचारीहरुको तलव कटौती भएपछि उनीहरु दु:खी भएका छन् । अहिलेपनि दैनिक दुई देखि तीन सयको हाराहारीमा बिरामीहरु अस्पतालमा आइरहेका छन् ।
अस्पतालका निर्देशक डा.कौशलकुमार बर्माले भने कर्मचारीकै सहमतिमा तलव कटौती गरिएको बताउनुभयो । स्वास्थ्य पेजसँगको कुराकानीमा उहाँले भन्नुभयो–‘कोरोना महामारीमा अस्पताल घाटामा गएकाले कर्मचारीकै सहमतिमा तलव कटौती गरिएको हो ।’
उहाँले स्वाबलम्बि संस्था भएकाले घाटा हुँदा स्वभाविकरुपमा तलव कटौती हुने बताउनुभयो । ‘घाटामा गएर कर्मचारी पाल्न सकिदैन नी ? उहाँले भन्नुभयो–‘स्वाबलम्बि संस्था भएकाले सबै कर्मचारीको सहमतिमा तलव कटौती भएको हो ।’
उहाँले स्थिति सहज बन्दै गए आगामी असोज-कार्तिक महिनादेखि तलवभत्ता नियमित हुने पनि जानकारी दिनुभयो । अस्पतालमा ६९ कर्मचारी कार्यरत रहेका छन् । निर्देशक बर्माका अनुसार कर्मचारीको तलवमा मात्रै मासिक झन्डै ३५ लाख खर्च हुने गरेको छ ।