नेपालगन्जः निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहरको उच्च जोखिम देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो । मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताउनुभयो ।
सरकारले २२ जिल्लालाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । जसमा कर्णाली प्रदेशका सल्यान, सुर्खेत, दैलेखर कालिकोट छन् । सूदरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा भने अति उच्च जोखिममा छन् । यस्तै, झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठानसहित २२ जिल्ला अति उच्च जोखिम क्षेत्रमा परेका छन् ।
एक संक्रमितले एक वा सोभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जाने विज्ञ बताउँछन् । संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण घट्ने हुन्छ । त्यसका लागि भरपर्दो विकल्प खोप लगाउने हो । तर, खोप केन्द्र टाढा हुँदा कतिपय खोपबाट वञ्चित भएका छन् । कतिपय ठाउँमा खोप दुरुपयोग भई लक्षित समूहले लगाउन पाएका छैनन्।
खोप जतिसक्यो चाँडै लगाउनुपर्ने विज्ञको सुझाव छ । डा अधिकारीका अनुसार हालसम्म मुलुकभर ८८ लाख ८२ हजार ८ सय ५० डोज प्राप्त भएको छ । त्यसमध्ये ५० लाख ४७ हजार ३ सय ५५ डोज प्रयोग भइसकेको छ । ३५ लाख ४४ हजार ४३ जना व्यक्तिले एक डोज खोप लगाइसकेका छन् । १५ लाख ३ हजार ३ सय १२ जनाले पूर्णडोज लगाइसकेको डा अधिकारीले बताउनुभयो ।