जन्म- वि.सं. १९४७
जन्मस्थान – नेपालगंज बाँके
न्वारनको नाम – पृथ्वी वीर अस्पताल (पी वीर अस्पताल)
हाल बोलाइने नाम – भेरी अस्पताल
बुवाको नाम – वीर शमशेर
म भेरी अस्पताल। उमेरले सवा शताब्दी नाघेको पनि ६ वर्ष भइसके छ । आज पहिलोपटक मेरो ‘बर्थडे’ मनाइँदैछ। म आफैँमा एउटा इतिहास हुँ। तर आफ्नो जन्मदिनमा केक काटिएन, बेलुन फुकिएन, रिबन ध्वजा पताकाले मलाई सिँगारिएन भनेर पनि मैले कहिले गुनासो गरिनँ, किनकि त्यो मेरो अपेक्षा नै थिएन।
म जुन उद्धेश्यको निम्ति स्थापना गरिएको थिएँ, त्यो हासिल गर्न सकेँ कि सकिन भनेर चाहिँ कहिलेकाहिँ सोचमग्न हुन्छु। मैले देखेको समाज, भोगेको समय, बोकेको विरासत, आँटेको भविष्य यो सोच्दा नै तरंगित हुन्छु। तर पनि कठिन ठाडो उकालोमा अनवरत हिंडेपछि चौतारीमा बिसाएर आज सोच्ने मौका मिलेको छ।
जंगबहादुर राणा युरोपबाट फर्केपछि नेपालमा केही आधुनिक कामहरू गर्न खोजेका थिए। तर उनको मृत्यु १९३३ मा भएपछि राज्यको बागडोर उनका भाइ खलकका हातमा सर्यो। अनि वीर शमशेरले नेपाल केही स्थानमा अस्पताल खोल्ने निर्णय गरे। राजा पृथ्वी वीरबिक्रमलाई पनि खुसी बनाउने हेतु मेरो नाम पृथ्वी-वीर अस्पताल राखियो।
वि.सं. १९४७ मा काठमाडौंको हालको वीर अस्पताल र म एकै साल स्थापना भएको हुँदा हामी नाल जोडिएका जुम्ल्याहा हौँ भन्दा पनि फरक पर्दैन। नेपाल भनेकै काठमाडौं खाल्डो हो भनेर चिनिने त्यो बेलामा समेत नेपालगंजमा अस्पताल खोलिनुले त्यो बेला पनि नेपालगंज शासकहरूको निम्ति महत्वको स्थान थियो भनेर अनुमान गर्न सकिन्छ।
यसैको सिको गर्दै पछि पृथ्वी-चन्द्र अस्पतालको नाममा इलाम, पाल्ही, पाल्पा र डोटीमा चन्द्र शम्सेरको पालामा अस्पताल खोलिए। साथै त्रिभुवन राजा भएपछि त्रिभुवन-चन्द्र अस्पतालको नाममा भद्रपुर, रंगेली, धनकुटा र सर्हालीमा अस्पताल खोलिए। त्यही समयमा काठमाडौं बाहिर खोलिएका यी अस्पतालहरू हाल पनि संचालनमा छन्, तर आआफ्नै हैसियतमा। इतिहासको यो लामो कालखण्डमा पनि सतीसाल जसरी उभिएर आज संघीय सरकार अन्तर्गतका केही प्रेषण अस्पतालको रूपमा आफूलाई उभ्याउनु मेरो लागि गौरवको कुरा हो।
एक त देशकै समग्र ऐतिहासिक दस्तावेजको अभाव छ, त्यसमाथि मोफसलको एउटा अस्पतालका आधिकारिक कागजात, दशी, प्रमाणहरू नहुँदा मेरो इतिहासका कतिपय पानाहरू कुरा ‘रे !! रे !!’ का भरमा सम्झिनु र सुनाउनु पर्दा म दुखी छु।
प्रथम विश्वयुद्ध (सन १९१४-१८) भन्दा पनि करीब ३० वर्ष पहिले सन १८८९ मा जन्मिंदा म कस्तो थिएँ होला, न मेरो कुनै फोटो छ, न कुनै चिना नै। यहाँसम्म कि मेरो नाम ‘अस्पताल’ नै थियो वा ‘डिस्पेन्सरी’, त्यसमै पनि इतिहासकारहरूको एक मत छैन।
उबेलाको अस्पताल कस्तो थियो भनेर नेपालगंजका पाका, अग्रज व्यक्तित्वहरूसँग ऐले कुरा गर्दा वहाँहरूले दिएको अनुभव नै टुक्र्याइएको “पजल” जस्तो छ, जसलाई यहि हो भनेर समाधान गरि आधाकारिक मान्न यथेष्ट आधारहरू समेत हाल छैनन । फेला पारिएका केही धुलाम्मे सम्झनाले मलाई ऊ बेला १५ बेडको संरचना भएको भन्छ। तर जति नै गर्दा पनि यसभन्दा प्रामाणिक इतिहास मैले फेला पार्न सकिनँ। यदि कसैले मेरो शैशवकालका दस्तावेजहरू जुटाएर मेरो विगत सम्झाइदिनुभएमा म वहाँहरूप्रति सदा ऋणी हुने थिएँ।
हुन पनि के नै थियो होला र उबेलाको स्वास्थ्य प्रणाली आजको तुलनामा ? अलेक्जेन्डर फ्लेमिङले पेनिसिलिन नामक एन्टिबायोटिक सन १९२८ मा पत्ता लाउनु भन्दा पनि करीब ४० वर्ष पहिले नेपालको स्वास्थ्य अवस्था र उपचार प्रणाली कस्तो थियो होला ? धामीझाँक्री र परम्परागत उपचार नै उबेला धेरैले प्रयोग गर्थे ।
तराइको यो ठाउँ औलो रोगको गोलो जस्तो थियो। रैथाने थारूहरू मात्र ऊ बेला यहाँ टिकेर बस्न सक्थे। पछि थाहा भयो औलोसँग लड्न क्षमता दिने त्यो विशेष गुण ‘सिकल सेल एनिमिया/डिजिज’ रहेछ, जसले औलोबाट नमारे पनि विभिन्न किसिमका दीर्घ समस्याहरू गराउँदो रहेछ।
आधुनिक औषधीको नाममा केही रसायन थिए होलान्। क्विनिन विश्वका अन्य भागमा प्रयोग भैसकेको थियो तर यहाँ ? अहँ म यसै भन्न सक्दिन। पेट दुख्दा खाने Carminative Mixture, Cough Mixtures घाउहरूमा प्रयोग गर्न केही एन्टिसेप्टिक झोलहरू (Gentian Violet, Tincture Iodine, Tincture Benzoin), छालाको उपचार गर्न Coal Tar र गन्धक जस्ता हाल उति प्रयोगमा नआउने रसायनहरू नै उबेलाका मुख्य औषधिहरू थिए।
सरकारले British Pharmacopoeia मा माथि उल्लेखित जस्ता औषधिहरू बनाउन कच्चा रसायनहरू किनेर आपुर्ती गर्ने गर्थ्यो। फार्मेसिस्टहरूले ति रसायनलाई पिँधेर, ससाना पुरिया वा पाउचमा ति औषधिहरू सर्वसाधारणलाई दिनको लागि प्याक गर्थे।
देशमा उबेला चिकित्सक नै कति थिए र ? राजाले समेत बंगाली डाक्टरबाट स्वास्थ्योपचार गराउने बेला थियो त्यो । त्यसैले मकहाँ पनि सुरुसुरुमा बंगाली मूलका चिकित्सकले सेवा दिनु भयो। वहाँहरुले आफूसँग ड्रेसर, कम्पाउन्डर पनि लिएर आउनुहुन्थ्यो।
डा. रघुवीर दयाल, डा फनिन्द्र गुप्ता, डा जगदिश सिंह, डा तारापद शाह नेपालगंज शहरमा आधुनिक औषधि गर्ने सुरुवाती दिनका चिकित्सकहरू हुनुहुन्थ्यो । साथै श्रीवास्तर ड्रेसर र चटर्जी दाजुभाइले चलाएको फार्मेसीका धुमिल सम्झनाहरू यहाँका पाका अग्रजहरूले सुनाउने गर्नुहुन्छ।
गम्भीर रोगहरूको निम्ति यहाँ उपलब्ध नहुने औषधी भने लखनउतिरबाट नै मगाउन पर्थ्यो। बिस्तारै यहाँ पिलो, घाउ आदिको चिरफार तथा हाइड्रोसिल, हर्निया र बबासिर जस्ता समस्याको अपरेसन पनि हुन थाल्यो।
बि.सं. २०१४ मा यस क्षेत्रमा हैजाको ठूलो महामारी फैलियो। त्यो महामारीमा मेरो १५ शैयाको संरचना पर्याप्त भएन। त्यस बखत एकजना अघोरी बाबाले मसँग हातेमालो गर्दै सल्यानी बङ्गलामा उक्त प्रकोपको सामना र व्यवस्थापन गर्न सहयोग गर्नुभएको थियो।
सीमित भौतिक पूर्वाधारका भरमा घिस्रिरहेको मेरो सेवा प्रवाहमा तत्कालीन राजा महेन्द्रको सवारीले केही ऊर्जा थप्ने काम गर्यो। अस्पतालमा एउटा प्रसूति गृह बनाउने अवधारणा अनुसार वि.सं. २०१६ मा श्री रत्न राज्यलक्ष्मी सेवा सदन र प्रसूति गृहको नामको एक भवनको शिलान्यास भयो भने निर्माण कार्य पुरा भइ २०२० फागुन १८ मा तत्कालिन राजा महेन्द्रबाट उद्घाटन भयो। हालसम्म भेरी अस्पतालका अधिकांश सेवाहरू यही भवनबाट प्रवाहित भैरहेका छन्।
देशलाई १४ अञ्चल ७५ जिल्लामा प्रशासनिक विभाजन गरिएसँगै मेरो परिचय पनि बदलियो। वि.सं २०२२ सालमा मेरो नाम ‘पी वीर अस्पताल‘ बाट ‘भेरी अञ्चल अस्पताल’ रहन पुग्यो। त्यसैताका मेरो स्तरोन्नति भयो र म ५० शैयाको बनाइएँ। मेरो नामसँगै क्षमता,स्रोतसाधन, गुणस्तर अनि सेवा प्रवाहमा पनि बढोत्तरी हुँदै गयो। म पश्चिम नेपालको राप्ती, कर्णाली, सेती, महाकाली अञ्चलका बिरामीहरूका लागि आशाको केन्द्र हुन पुगेँ।
नेपालगंजमा २०२०-२१ सालतिर नै एक जना धनाढ्य साहुले डिजेल प्लान्टबाट बिजुली उत्पादन गर्थे र अरूलाई पनि बेच्ने गर्थे । २०२५ सालतिर भारतबाट बिजुली आउन थालेपछि त्यो डिजेल प्लान्ट सुकेर गयो। र त्यहि समयको आसपास जमानामा आपूर्ती भएर पनि प्रयोगमा नल्याइएको ‘एक्स-रे’ सेवा सुरु गरेको अनुभव इर्साद अलि सिद्धिकी (मुन्दा दाइ) सुनाउनुहुन्छ।
उबेला मेडिकल सुपरिन्टेन्ड भन्ने पद थिएन । अस्पतालको प्रमुखलाई ‘सिभिल सर्जन’ भनिन्थ्यो । २०३०-३२ साल तिर डा योगेन्द्र मान सिंह प्रधान सिभिल सर्जन बनेर आउनुभयो । त्यसपछि बिस्तारै बिशेषज्ञ चिकित्सकहरूको पनि आगमन हुन थाल्यो ।
डा सन्तोषमान श्रेष्ठ, डा कपिला श्रेष्ठ, डा शोभना श्रेष्ठ, डा धर्मशरण मानन्धर, डा एन्डी जोशी, डा सुधाकर अनिल थपलिया, डा रमानन्द सिन्हाजस्ता चिकित्सक र सिभिल सर्जनहरूको योगदान कसैले पनि भुल्नु हुन्न।
२०३७ सालतिर म नेपालकै व्यस्त र त्यो बेलाको सुविधासम्पन्न रिफरल सेन्टरका रूपमा प्रख्यात थिएँ। त्यस बेलासम्ममा मेरो विस्तार भएर इमर्जेन्सी, अन्तरंग विभाग, बहिरंग विभाग, एक्स रे र ल्याब गरि विविधिकरण भैसकेको थियो ।
ओ.पी.डीमा सर्जिकल, मेडिकल, गाइने र पेडियाट्रिक्स थिए। म कहाँ दैनिक २ सय देखि ३ सय जनासम्म बिरामीहरू ओपिडीमा र ३०-४० बिरामीहरू इमर्जेन्सीमा आउन थालिसकेका थिए। डा दुर्गा प्रधान, डा उषा शाह, डा एम किदवाइ,, डा गोपाल श्रेष्ठ, डा माधव खनाल र डा एन अग्रवालको आगमनले मेरो सुदृढीकरणमा ठूलो टेवा पुग्यो।
२०४६ मा भएको जनआन्दोलनका घाइतेहरूलाई पनि मैले मलम पट्टी गरेको थिएँ।
तराइको ठाउँ भएकोले मेनिन्जाइटिस, इन्सेफ्लाइटिस, औलो, झाडा पखाला, टाइफाइडका प्रकोपहरू बेलाबेलमा फैलिने गर्थे। २०५१ सालतिर बाँकेको राप्तीपारीमा भएको इन्फ्लुएञ्जाको महामारी र २०५३-५४ मा बाँके बर्दियामा फैलेको इन्सेफ्लाइटिसको महामारी मैले नै धानेको थिएँ। आफ्नो नियमित सेवा प्रवाह बाहेक चिकित्सकको अभावमा स्वास्थ्योपचारबाट बञ्चित दुर्मग जिल्लाका जनतालाई बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन गर्न यहिंबाट स्वास्थ्यकर्मीहरूलाई खटिन्थे। निजी स्वास्थ्य संस्थाहरू अस्तित्वमा नै नआइसकेको बेलामा जे थिएँ, म नै थिएँ।
मैले २०५२- ०६२ सम्मको सशस्त्र द्वन्दको क्रममा धेरै सुरक्षाकर्मी, घाइते र अपाङ्गको उपचार मकहाँबाट नै सम्पन्न भयो। राजनीतिक परिस्थिति र उतारचडावका कारण जनयुद्ध चलेको १० वर्ष को अवधिमा देशका सरकारी स्वास्थ संस्थाहरूमा जति परिवर्तन आउन पर्ने थियो त्यति आउन सकेन । म अपवाद कसरी हुन सक्थें ?
देश संघीयतामा प्रवेश गरेर प्रदेशमा विभाजन भएसँगै २०७५ पुसमा मेरो नाम ‘भेरी अञ्चल अस्पताल‘ बाट ‘भेरी प्रादेशिक अस्पताल‘मा परिणत भयो। ‘भेरी प्रादेशिक अस्पताल‘ भएको २ महिनामै म संघीय अस्पतालको रुपमा दरिएँ।
यति बेलासम्म पनि मेरो क्षमता स्थापना कालको ५० शैयामा कालान्तरमा अस्पताल बिकास समितिले आफ्नो श्रोतमा थपेको १०० बेड गरि जम्मा १५० मै सिमित थिएँ। मेरो महत्व सबैले बुझ्दा बुझ्दै पनि विविध कारणले स्तरोन्नती र क्षमता विस्तार हुन सकिरहेको थिएन। यहि विचमा मेरो परिशरमा २५० बेड क्षमताको ठूलो भवन बनाइ मलाई ५०० शैयाको बनाउने सरकारको निर्णय भयो ।
सन् २०१९ डिसेम्बरमा पत्ता लागेको कोभिड-१९ अर्थात SARS-Cov-2 विश्वव्यापी महामारीबाट नेपाल पनि अछुतो रहन सकेन र सन् २०२० जनवरीमा पहिलो केश देखियो। यस लडाइँमा नेतृत्व मैले नै गर्नु थियो तर विविध व्यवस्थापकिय कारणहरूले गर्दा सुरुमा खजुरा स्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना अस्पतालको रुपमा बिकास गरियो । त्यहाँ ८ आईसीयूसहित ४८ बेड
निर्माणकार्य पुरा भए पनि अन्तरंग विभाग संचालनमा नआइसकेको उक्त अस्पताल चलायमान बनाउन त्यतिबेलाको प्रयास सहायकसिद्ध भयो। २०७७ जेठ देखि भदौसम्म त्यहाँ करीब २६० जनालाई उपचार हाम्रै जनशक्तिहरू गएर गर्नु भयो।
एउटै जनशक्तिले दुई तिर अस्पताल संचालन गर्न निकै कठिन भयो। अस्पताल परिसरमा प्रशुति विभागको निम्ति विस्तार गरिएको भौतिक संरचना करीब करीब तयार भएको अवस्था थियो। यहि स्थानलाई कोभिड वार्ड बनाउनको लागि अस्पताल व्यवस्थापन खट्यो।
नेपालगंज उपमहानगरपालिका, जिल्लास्थित पालिकाहरू, विभिन्न संघसंस्था, व्यक्ति , राजनीतिक दल, र हजारौँ सहयोगी मनहरूको सहयोगबाट केहि हप्तामा नै
करीब डेढ सय शैयाको कोभिड वार्ड स्थापित भयो । कोभिडको पहिलो लहरमा मात्र करीब १००० जनाले यस अस्पतालबाट उपचार पाए।
पहिलो लहर साम्य हुन नपाउँदै २०७८ को सुरुवातसँगै फेरि कोभिड-१९ को दोश्रो लहर भित्रियो। म दोश्रो लहरका लागि पनि तयार त थिएँ, तर त्यो मैले सोचे भन्दा फरक तरिकाले भित्रियो। पहिलो लहरमा कहिल्यै ‘प्याक’ नभएको कोभिड वार्ड चार दिनमै प्याक भयो। महामारी उच्च बिन्दुमा हुँदा दैनिक ५० जनाजति नयाँ बिरामी भर्ना गरियो।
१ वर्ष अगाडीसम्म अस्पालतकै क्षमता १५० शैया रहेकोमा कोभिडको उच्च बिन्दुमा करीब ३०० जना बिरामीहरू कोभिडकै मात्र पनि व्यवस्थापन गर्नु पर्यो। कैले एकजनाको सास जाला र मेरो सास बच्ला भनेर बिरामीहरू बेड कुरेर बस्थे। त्यस बखत यहाँ लासहरूको जन्ती देख्यो र ती लासको लागि रुनेहरूको तालजतिको आँसु।
कोभिड-१९ को दोश्रो महामारीमा मात्र मैले १५०० भन्दा बढी बिरामीको उपचार गरे। यस महामारीमा मेरा बारेमा धेरै टीकाटिप्पणी भए, मेरो सेवा, मेरो चरित्र, मेरो क्षमता मेरो काम सबै माथि नकारात्मक टिप्णीहरू पनि भए, तर मैले विचलित हुनु हुँदैनथ्यो, म चूपचाप बिरामीको सेवा गरिरहेँ।
तर मेरा बारेमा नकारात्मक मात्र कुरा भएनन्, सकारात्मक टिप्पणी पनि भए, मैले प्रसस्त प्रशंसा पनि पाएँ। कोभिड महामारीमा काम गरेर देशकै उत्कृष्ट अस्पतालहरू मध्ये एक बन्न पाउँदा गौरवान्वित छु।
आफूले बेहोरेका अप्ठ्यारा र विषम परिस्थितिहरूले ममा ठूलो साहस र आँट भरिदिएका छन् र आगामी दिनहरूमा आफू जस्तोसुकै परिस्थितिमा पनि अडिग भएर उभिन सक्छु भन्ने आत्मविश्वास दिएको छ।
सरकारी अस्पतालप्रति बढे-बढाइएको नकारात्मक धारणा यस महामारीका कारण पक्कै पनि फेरिँदैछ। जुनैसुकै बेलामा पनि, र विशेषतः ठूला प्रकोपका समयमा तथा जनतालाई चाहिने त सरकारी अस्पताल नै रहेछ भन्ने विश्वास दिलाएको छ।
कोभिडले हामीलाई अक्सिजनको महत्व सम्झाइदिएको छ । हो, म पनि अक्सिजन नै हुँ । देशको यो भूभागका जनताको स्वास्थ्य उपचारको सुविधाको निम्ति । त्यसैले त अस्पतालले यसपटक देखि प्रकाशित गर्न लागेको यो स्मारिकाको नाम पनि अक्सिजन नै जुराएको छ।
हुन पनि सिटी स्क्यान, डायलाइसिस, क्याथ ल्याब, ल्याप्रास्कोपिक सर्जरीका अत्याधुनिक औजार उपकरणहरू, अक्सिजन ट्यांकले गर्दा देशका अन्य अस्पतालको माझ मेरो छुट्टै पहिचान बनेको छ। बैद्य, कम्पाउन्डरको भरमा खुलेको अस्पतालले मेडिसिन, सर्जरी, बालरोग र प्रशुती जस्ता मेजर विषयमा विभाग स्थापना गर्दै हाल प्रायजसो ‘माइनर विधा’ समेत र बिस्तारै न्यूरोसर्जरी, कार्डियोसर्जरी, ग्यास्ट्रोसर्जरी जस्ता विशिष्टकृत सेवाहरू विस्तार हुँदै जाँदा म यस क्षेत्रका बिरामीको लागि म “सम्पूर्ण अस्पताल” बन्ने प्रयासमा छु ।
अझै पनि म भावी दिनहरूमा आउन सक्ने प्रकोपको लागि म अभ्यास गर्दै छु। कहिलेकाही आफूले आफूलाई नियाल्दै जाँदा ममा कति परिवर्तन भएछन है! मेरो गुणस्तर कहाँबाट कहाँ पुगेछ है! भन्ने सोच्न पुग्छु।
“उद्देश्य के लिनु उडि छुनु चन्द्र एक” भनेजस्तै म पनि आफ्नो क्षमता, जनशक्ति र गुणस्तर वृद्धि गर्दै आम नागरिकसम्म अझ सहज र सरल रूपमा स्वास्थ्य सेवा पुरयाउने मनसायका साथ विशिष्टीकृत अस्पताल बनाई देशकै उत्कृष्ट अस्पताल बन्ने सपना बोकेर अघि बढिरहेको छु।
मेरा पाइलाहरू न कहिले रोकिए! न कहिले रोकिने छन्।
स्मारिका अक्सिजनबाट