काठमाडौं: अमेरिकामा फेरि कोरोनाको संक्रमण फैलने चेतावनी दिइएको छ । खोप नलगाएका व्यक्तिमा संक्रमण तथा मृत्युदर बढ्दै गएका बेला वरिष्ठ सुरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले कोरोना भाइरसको महामारीका सम्बन्धमा अमेरिका गलत दिशा तर्फ गइरहेको बताउनुभएको हो ।
अमेरिकामा कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले फेरि सबैजनाले मास्क अनिवार्य लगाउनु पर्ने बेला आएको उहाँको भनाइ छ । यसका लागि उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ । संक्रमण नियन्त्रणमा लिनका लागि खोप लगाएका व्यक्तिहरुका लागि मास्क सम्बन्धी निर्देशिकामा परिमार्जन गर्ने बारे स्वास्थ्य अधिकारीहरुबिच कुराकानी भइरहेको उहाँले बताउनुभएको छ ।
कोरोना विरुद्धको खोप नलगाएकाहरुले स्वास्थ्यका मापदण्ड पालनामा ध्यान नदिँदा समस्या भएको भन्दै उहाँले खोप लगाउन पनि अनुरोध गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति जो बाइडेनका मुख्य चिकित्सा सल्लाहकार समेत रहेका फाउजीले लस एन्जलस, काउन्टीलगायत क्षेत्रमा अहिले सङ्क्रमण बढिरहेको पनि बताउनु भएको छ ।
आधिकारिक तथ्यांक अनुसार अमेरिकामा कुल जनसंख्याको ४९ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।अमेरिकामा हालसम्म तीन करोड ४० लाख भन्दा बढि मानिस संक्रमित भएका छन् भने ६ लाख १० जनाको कोभिड–१९ का कारण ज्यान गएको छ ।