सैनामैनामा ५० शय्याको सरकारी अस्पताल निर्माण शुरु

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७८, आईतवार

बुटवलः रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा ५० शय्याको सरकारी अस्पताल बनाउन शुरु भएको छ । अस्पताल निर्माणका लागि श्यामसुन्दर एनबी जेभीले ११ करोड ३६ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी शिलान्याश भएको छ ।

२०८० साल साउन १० गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि समय अगावै काम पूरा गरेर हस्तान्तरण गरिने निर्माण कम्पनीका सञ्चालक नारयण भुसालले बताउनुभयो । संघीय सरकारको ‘एक स्थानीय तह एक अस्पताल’ नीति अन्तर्गत वडा नं ४ मुर्गियामा अस्पताल निर्माण हुन लागेको हो ।

संघीय सरकारको सशर्त अनुदानमा बन्ने १५ शैयाको अस्पताललाई रि–डिजाइन गरेर नगरपालिकाले ५० शय्याको बनाउने गरी स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएको हो । १० कठ्ठा जग्गामध्ये साढे ३ कठ्ठा क्षेत्रफलमा बन्ने अस्पतालको प्लिन्थ एरिया १२ सय ९ वर्गमिटर रहने नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेले बताउनुभयो ।

अस्पताल भवनमा इमर्जेन्सी, बहिरङ्ग विभाग,अन्तरङ्ग विभाग, प्रसुति इकाइ रहनेछन् । भवनको माथिल्लो तलामा प्रशासनिक कार्यालय, लाइब्रेरी, सभा हल लगायत आधारभुत अस्पतालमा हुने सबै सुविधा रहने इन्जिनियर न्यौपानेले बताउनुभयो । दुईबटा लिफ्टहरु रहने र चार तलासम्म स्ट्रेचर लैजान मिल्ने गरी र्‍याम्प निर्माण हुने अस्पताल भवन अपांगमैत्री हुने छ । अस्पतालमा पोस्टमार्टम गृह पनि बन्ने छ ।

हालको डिजाइनमा बन्ने भवनमा नगरपालिकाको आन्तरिक स्रोतबाट तला थपेर ५० शय्याको बनाइने नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो । अस्पतालमा ३० वटा एचडीयू बेड, १० वटा आईसीयू बेड, १० वटा जनरल बेड र आवश्यकता अनुसार इमर्जेन्सी बेड रहने कार्कीले बताउनुभयो ।

 

 

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech