नेपालगन्ज: बाँकेका चारवटा पालिकामा आज श्रावण १० गतेदेखि १२ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाईदै छ ।
सरकारले निर्धारण गरेको लक्षित समुहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका,जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा खोपको पहिलो डोज दिईने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा यसअघिनै खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सम्पन्न भईसकेको छ । यो अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूहले खोप लगाउन पाउनेछन् ।
त्यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई समेत भेरोसेलको पहिलो मात्रा खोप लगाइनेछ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकहरुले पनि खोप लगाउन पाउनेछन् ।
स्वास्थ्य कार्यालय बाँकेले खोप लिन जाँदा ५५ वर्ष माथीका नागरिकले नागरिकता वा उमेर खुल्ने प्रमान पत्र सहित र शिक्षक, कर्मचारीहरुको हकमा संस्थाले जारी गरेको प्रमाण पत्र सहित नजिकको स्वास्थ्य संस्थामा जान भनेको छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाईनेछ