नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको पोषण पुनःस्थापना गृहमा हालसम्म १ हजार ६ सय ७२ जना कुपोषित बालबालिकाले सेवा लिएका छन् ।
२०६० सालमा स्थापना भएको पोषण गृहमा पछिल्ला दुई आर्थिक वर्षमामात्रै करिव २ सयको हाराहारीमा कुपोषित बालबालिकाले सेवा लिएका छन् । आर्थिक वर्ष २०७६-७७ मा ५२ बालक र ५८ बालिकागरी १ सय १० र आर्थिक वर्ष ०७७-७८ मा ३४ बालिका र ४६ बालकगरी ८० कुपोषित बालबालिकाले सेवा लिएका छन् ।
बाँकेका खासगरी मधेशी समुदायमा कुपोषणको अवस्था भयावह देखिएको छ । बाँके जिल्लासहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि रिफर भै पोषण गृहमा सेवा लिन आउनेको चाप बढेको देख्दा कुपोषणको अवस्था विकराल रहेको पोषण पुनःस्थापना गृहका प्रमुख दामोदर खनालले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।
खासगरी, विकटक्षेत्र तथा स्वास्थ्यसम्बन्धी कम चेतना भएका ग्रामीण भेगका बालबालिका रोग तथा संक्रमणबाट बढी प्रभावित भएको पाइएको छ । अभिभावकमा पोषणसम्बन्धी ज्ञान नहुँदा धेरैजसो बालबालिका कुपोषणको जोखिममा परेका छन् ।
रोकथाम र उपचार
कुपोषण हुन नदिन बालबालिकालाई आमाले पर्याप्त स्तनपान गराउन जरुरी छ । स्तनपानले साना बच्चाको पोषणमा ठूलो सहयोग पुर्याउँछ । बच्चालाई नियमित ताजा फलफूल, हरियो सागसब्जी र प्रोटिनयुक्त खानेकुरा खुवाउनुपर्छ ।
गाउँघरमा पाइने सागसब्जी, गेडागुडी, दुध दही, मकै भटमास जस्ता खानेकुरा नियिमत खानामा समावेश गराउन सकिन्छ । यो महंगो पनि छैन र पौषिटक पनि छ । बच्चाहरूलाई बजारमा पाइने जंकफुड, फास्टफुड र प्याकेटको खानेकुरा दिन हुँदैन। विज्ञापनको पछि लागेर यस्ता खानेकुरा दिंदा बच्चाको स्वास्थ्यमा सिधै असर पर्छ ।
वेलावेलामा बच्चाको स्वास्थ्य परीक्षण गराउन आवश्यक छ । कुपोषण सुरुवाती चरणमै भए पौष्टिक खाना खुवाएरै निको पार्न सकिन्छ ।