नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ८ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालको ल्यावमा ५५ नमुना परीक्षण गर्दा ५ जना , नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा २५ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्याबमा २८ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन । आज कोभिड पुष्टि भएका मध्ये बाँकेका ६ जना छन् ।
हालसम्म जिल्लाका प्रयोगशालामा कुल ८६ हजार ४ सय ७० जनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीका अनुसार गएको २४ घण्टामा संक्रमणबाट निको भएर थप ४ जना डिस्चार्ज भएका छन् ।