नेपालगन्जः चितवनस्थित चितवन मेडिकल कलेजमा जाजरकोटका एकजना पुरुषको सफलतापूर्वक दोस्रोपटक कलेजो प्रत्यारोपण गरिएको छ । मेडिकल कलेजले कुशे गाउँपालिका– ९ जाजरकोटका ४७ वर्षीय भरतविक्रम शाहीमा कलेजो प्रत्यारोपण गरेको हो ।
शाहीलाई उहाँकी ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दिनुभएको थियो । गत चैत ८ गते पहिलोपटक राजधानी काठमाडौं बाहिर कलेजोको सफल प्रत्यारोपण गरेको कलेजले असार १८ गते शाहीको कलेजो प्रत्यारोपण गरेको हो ।
कलेजले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी कलेजो दान दिने कमलादेवी शाही असार २७ गते नै डिस्चार्ज भएको र कलेजो लिने भरतविक्रमको स्वास्थ्य अवस्थामा सुधार भैरहेकाले अर्को साता उहाँलाई समेत डिस्चार्ज गरिने जनाएको छ ।
कमलादेवीको ६० प्रतिशत कलेजो भरत विक्रममा प्रत्यारोपण गरिएको डाक्टरहरुले बताएका छन् । ४ देखि ६ महिनामा दुबै जनामा कलेजोको आकार आफैं विकसित भएर ९० देखि ९५ प्रतिशत पुग्ने चिकित्सकहरु बताउँछन् ।
कलेजका विषेशज्ञ चिकित्सकहरू डा सञ्जय यादव, डा एकानन्द सिंह, डा किरण अधिकारी, डा बरुण श्रेष्ठ, डा सागर पौडेल, डा नविन यादव, डा सुरेश गौतम, डा सुवास ओझा, डा जयन्त कुमार शाह, डा बीरेन्द्र राउत, स्टाफ नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडासहित प्रत्यारोपणमा भारतबाट तीन चिकित्सक र तीन जना सहयोगी स्टार्फको समेत संलग्नता रहेको थियो ।
कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले ८ देखि १० वटा प्रत्यारोपणपछि भारतीय चिकित्सकहरूको संलग्नता विना नै प्रत्यारोपण गरिने बताउनुभयो ।