काठमाडौं: जापान सरकारले नेपाललाई कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ । जापानले कोभ्याक्स सुविधामार्फत नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको हो ।
काठमाडौंस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ । यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।
नेपालले उक्त खोप कहिले प्राप्त गर्छ भन्ने विषयमा भने अहिले टुंगो लागिसकेको छैन । यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो । यो खोप आएपछि कोभिशिल्ड लगाएर दोस्रो मात्रा कुरिरहेका करीब १४ लाख ज्येष्ठ नागरिकलाई राहत मिल्नेछ ।
जापानले नेपालसहित बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंका लगायतका १४ एसियाली देशलाई करिब एक करोड दशलाख डोज खोप सहयोग गर्ने घोषणा गरेको हो । दूतावासले यो खोप जापानबाट ल्याउने र नेपालमा वितरण गर्ने कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्ने उल्लेख गरेको छ