गाला चाउरिएका छन् । हातगोडाका छालापनि मुर्झाएका छन् । हातहरु काँप्छन् । बरिष्ठ बालरोग बिशेषज्ञ डा. दुर्गा प्रधान विगत दुई वर्षदेखि आफै स्वास्थ्य समस्यासँग जुधिरहनुभएको छ । युरिक एसिड, प्रोष्टेट, मधुमेह, उच्च रक्तचाप लगायतका समस्याबाट जुधिरहनुभएका डा.प्रधान पछिल्लो पटक कोभिड महामारीले गर्दा बालबालिकाको उपचार सेवामा खुलेर लाग्नु भएको छैन् ।
उमेरले करिव ८ दशक छुनै लागेको छ । त्यसैमा विभिन्न रोगबाट पीडित । अस्पतालमा विभिन्न खाले बिरामी आउने गरेका कारण उनीहरुसँग एक्सपोज हुँदा कोरोना भाइरस संक्रमण हुने डरले डा.प्रधान पहिले जस्तो अस्पतालमा जानु हुन्न् । ‘बुढ्यौली लागेसी धेरै गाह्रो हुँदो रहेछ स्वास्थ्य पेजको टिमसँग आफ्नै निवासमा उहाँले भन्नुभयो–‘दिनमा दशौं ट्याब्लेट औषधि आफै खाइरहेको छु ।’
वि.स २०३८ सालमा भेरी अस्पतालमा मेडिकल अधिकृतको रुपमा जागिर सुरु गर्नुभएका डा प्रधानले २४ वर्षसम्म भेरीमै बसेर सेवा दिनुभयो । सेवा निवृत्त भएपछि भने उहाँले त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आउनुभएको छ । बरिष्ठ बालरोग बिशेषज्ञ डा प्रधानले यसक्षेत्रका लाखौं बालबालिकाको उपचार गरेर प्राण दिनुभएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसहरुले आफ्ना बालबालिका बिरामी पर्दा अझै पनि डा प्रधानलाई सम्झी रहन्छन् । डा प्रधान बरिष्ठ बालरोग बिशेषज्ञ मात्र होइन यसक्षेत्रका चिकित्सकहरुका अभिभावक समेत हुनुहुन्छ । बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट २००२ सालमा सल्यान खलंगामा जन्मिनुभएका डा प्रधानले कक्षा ८ सम्म सल्यानमै अध्ययन गर्नुभयो ।
त्यसपछि भने उहाँ अध्ययनको लागि काठमाडौं जानुभयो । उहाँले २०१९ सालमा पद्यमोदय हाइस्कुलबाट एसएलसी उर्तिण गर्नुभयो । २०२१ सालमा त्रिचन्द्र कलेजबाट आइएससी गरेपछि एमबिबिएसका लागि उहाँले छात्रवृत्तिमा नाम निकाल्नुभयो । उहाँले २०२९ सालमा भारतको मद्रासबाट एमबिबिएस गर्नुभयो । एमडी भने उहाँले भारतको मुम्वईबाट गर्नुभएको हो ।
जागिर अवधिभर काठमाडौं बाहिर
अझैपनि चिकित्सकहरु विकटमा जान मान्दैनन् । सेवा सुविधा र हरेक दृष्टिकोणबाट राजधानीजस्तो सहज विकटमा पक्कै छैन् । त्यही भएर उनीहरु काठमाडौं छाड्न गाह्रो मान्छन् । तर अहिले पूर्वाधारको धेरै विकास भइसकेको छ । यातायातको सहज पहुँच छ । जनस्तरमा स्वास्थ्य शिक्षाको चेतना धेरै माथि उठिसकेको छ । ४०÷४५ वर्ष पहिलेको अवस्था के थियो होला ? सडक यातायातको सुविधा त परै जावस् हवाई यातायातको समेत राम्रो सुविधा थिएन् । तर डा.प्रधान आफ्नो जागिरे जीवनमा एकपटक पनि काठमाडौं बस्नुभएन् ।
‘काठमाडौं बस्नु पर्छ भन्ने सोचै आएन उहाँले भन्नुभयो–‘२४ वर्ष त भेरी अस्पतालमै विताए । बाँकी डोल्पा, बर्दिया र रौतहतमा ।’ एक वर्ष उहाँले क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतमा निर्देशकको जिम्मेवारी निभाउनु बाहेक अधिकांश जीवन बिरामीको उपचारमा खर्चिनुभयो । भेरीमा ‘फस्ट कलास’का चिकित्सकहरु बस्नै मान्थेनन् उहाँले भन्नुभयो–‘म यही सेवा गरिरहेको थिए मन्त्रालयले पनि कहिल्यै चलाएन ।’
काठमाडौं बाहिर जान नमान्ने चिकित्सकहरु प्रशस्तै थिए । त्यसमा डा.प्रधान काठमाडौं बाहिरै बसिरहनुभएको थियो । डा.प्रधानलाई न मन्त्रालयले सरुवा ग¥यो न त उहाँ सरुवा गरिदिनु प¥यो भन्दै मन्त्रालय धाउनु भयो । अन्ततः उहाँको ३३ वर्षको सरकारी जागिरे जीवन मोफसलमै जनताको सेवा गरेर वित्यो ।
त्यो हिउँसँग मैया
वि.स २०२९ सालमा भारतको मद्रासबाट एमबिबिएस सकेर आएपछि डा प्रधानले त्यही वर्षको मंसिर २९ गते काठमाडौं नक्सालकी सीतादेवी मानन्धरसँग लगनगाँठो कस्नुभयो । सीतादेवीसँग डा.प्रधानको चिनजान पहिल्यै थियो । किनकी प्रधान परिवार र मानन्धर परिवारबीच आउजाउ पहिल्यैबाट भइरहेकै थियो । तर सीतादेवीले दुर्गासँग बिबाह होला भनेर कहिल्यै सोच्नुभएको थिएन् ।
‘उहाँसँग बिहे होला भनेर कहाँ सोच्नु ? उहाँले भन्नुभयो–‘तर आमाले कुरा छिनिसक्नुभएको रहिछ । आमाले भनेपछि इन्कार गर्न सकिन ।’ काठमाडौंमा हुर्किएकी एक्ली छोरी सीतादेवीलाई दुलहीकारुपमा भित्र्याएको दुई महिना नपुग्दै डा.प्रधानले जागिरे जीवन सुरु गर्नुभयो । उहाँको पहिलो पोष्टिङ कर्णालीको विकट डोल्पा जिल्लामा भयो । थानकोटदेखि पश्चिम कहिल्यै नदेखेकी मैयालाई कसरी लग्ने होला ? डा. दुर्गालाई तनाव भयो । दुर्गाले सीतादेवीलाई मायाले बोलाउने नाम हो मैया । दुर्गा सल्यानमा जन्मिएकाले भीरपाखा, कुनाकन्दरा, हिउँसँग पौठेजोरी खेलेको अनुभूव थियो ।
त्यतिबेला काठमाडौं–जुम्ला फ्लाइट थियो । जुम्लासम्म फ्लाइटमा जाने र त्यहाँबाट डोल्पा हिडेर जाने निधो प्रधान दम्पतिले ग¥यो । फागुन २९ गते उहाँहरु जुम्ला पुग्नुभयो । ‘फागुनको महिना जुम्लामा खुव हिउँ परेको थियो डा.प्रधानले त्यो पल स्मरण गर्दै भन्नुभयो–‘एयरपोर्टबाट निस्कदा हिउँ पन्छ्याउँदै निस्क्यौं ।’ जुम्लामा त पुगियो अव डोल्पा कसरी पुग्ने ? प्रधान दम्पतिलाई तनाव थियो । घुडाघुडासम्म हिउँ थियो । लगेजपनि थियो । त्यो बोक्न केही भरियाहरु तयार थिए । त्यतिबेला हुलाकीहरुले हिडेरै चिठीपत्र ओसारपसार गथ्र्ये ।
डा.प्रधानले भन्नुभयो–‘तिनै हुलाकीहरुका पाइलाका डोव पछ्याउँदै डोल्पातिर लाग्यौं ।’ सीतादेवीलाई अव बाँचेर फर्किउँला भन्ने लागेकै थिएन् उहाँले भन्नुभयो–‘ठूलठूला ती भीर, त्यो हिउँ उफ ! पाइला–पाइलामा मृत्यु सम्झिरहे ।’ जहाँ पुगिन्थ्यो उहाँहरुको त्यहीँ बास हुन्थ्यो । आफुभन्दा १० वर्षकी कान्छी मैयाको त्यो पीडाले दुर्गालाई निकै बेचैन बनायो । तर अरु विकल्प पनि थिएन् । सेतो हिउँमा मैयाँलाई डो¥याउँदै १२ दिनको कष्टकर हिडाइपछि डा प्रधान डोल्पा पुग्नुभयो । डोल्पा पुगेपछि सुरुमा उहाँहरुले आफ्नो अनुहार ऐनामा हेर्नु भयो । ‘ओ माई गड ! हिउँको हावाले अनुहार त चिन्नै नसकिने भएको रहेछ’–दुर्गा र सीतादेवीले एउटै स्वरमा भन्नुभयो ।
डोल्पा पुग्ने पहिलो डाक्टर
डा प्रधान डोल्पा जिल्लामा पुग्ने पहिलो नेपाली डाक्टर हुनुहुन्छ । त्यसअघि डोल्पामा कुनैपनि डाक्टर पुगेका थिएनन् । डोल्पाली जनताले करिव ५० वर्षअघि नै डाक्टर पाएका थिए । त्यतिबेला डोल्पामा हेल्थ सेन्टर थियो । केही अहेवहरु बस्ने गर्थे । डा.प्रधान गएपछि भने त्यहाँ स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धी हासिल भएको उहाँ बताउनुहुन्छ । करिव २२ महिना उहाँले डोल्पालीलाई सेवा दिनुभयो ।
डोल्पामा तीन उपहार
डा.प्रधानका लागि डोल्पा बसाई जीवनकै अवस्मरणीय रह्यो । विकट डोल्पा पुग्ने पहिलो डाक्टर प्रधान नै बन्नुभयो । छोरा पनि डोल्पामै जन्मिए । गोर्खा दक्षिण वाहु चौथोबाट पनि उहाँ विभूषित हुनुभयो । उहाँले भन्नुभयो–‘डोल्पाले मलाई तीन वटा उपहार दियो ।’
फर्किदा झन पीडा
डोल्पामा बसेको पनि २२ महिना पुग्नै लागेको थियो । दशैं नजिकिदै गएको थियो । बिहेको पहिलो दशैं उहाँहरुले डोल्पामै मनाउनुभयो । आउनजान सहज नभएकाले उहाँहरुले पहिलो दशैं डोल्पामै मनाउनुभयो । यसपाली भने घरपरिवारबीच रमाइलो गरेर दशैं मनाउने योजना प्रधान दम्पतिले बनायो । तर जाने कसरी ? जुफाल विमानस्थलमा परीक्षण उडान हुने हल्ला फैलियो ।
डा.प्रधानले भन्नुभयो–‘पाइलटलाई आग्रह गरेर त्यसैमा काठमाडौं जाउँला भनेर झोलीझण्डी बोकेर एअरपोर्ट पुग्यौं । तर आकाश हेरेरै दिन वित्यो जहाज आएन ।’ दशैं नजिकिँदै थियो । अव जुम्ला आउने र त्यहींबाट काठमाडौं जाने योजना प्रधान दम्पतिको बन्यो । केही भरिया तयार पारिए । केही स्टाफहरु थिए । छोरो बिजय ९ महिनाको थिए । उनलाई डोकोमा राखेर प्रधान दम्पति जुम्लातिर हिड्यो ।
‘अहो यति दुःख पाइयो त्यो सम्झिदा अहिलेपनि शरीरमा काँडा उम्रन्छ सीतादेवीले भन्नुभयो–‘डर लाग्ने भिरपाखा, त्यो हिउँ । त्यसमा नौं महिनाको बाबु । कसरी फर्कियौं–फर्कियौं ।’ ७ दिनको हिडाइपछि उहाँहरु जुम्ला पुग्नुभयो । अव काठमाडौं फर्किन पाइने भयो भनेर प्रधान दम्पति खुसी थियो । तर काठमाडौंको लागि सबै हवाइ टिकट बुक भइसकेका रहेछन् । काउन्टरमा बुझ्दा तिहारसम्मै टिकट प्याक थियो । अव के गर्ने ? एकजना पाइलटलाई हारगुहार गरेपछि पोखरासम्म लग्दिने भए । त्योपनि श्रीमति र बाबुलाई मात्रै ।
त्यही पनि डा प्रधानलाई ठिकै लाग्यो । पोखराबाट काठमाडौं जान गाह्रो थिएन् । यातायात पाइहालिन्थ्यो । श्रीमति र छोरालाई पोखरा पठाउनुभयो । आफु भने टिकट पाइने आशमा नेपालगन्ज आउनुभयो । त्यतिबेला राँझा विमानस्थल स्थापना भएको थिएन् । खजुरामा विमानस्थल थियो । खजुराबाट काठमाडौंको लागि पनि टिकट प्याक भइसकेको रहेछ । त्यसपछि डा.प्रधान रुपैडियाबाट भारतीय भूमि भएर सडक यातायातबाट रक्सौल नाका हुँदै वीरगञ्ज पुग्नुभयो ।
सिमराबाट काठमाडौं उडान हुन्थ्यो । तर त्यहाँपनि टिकट नपाएपछि उहाँ सडकमार्गबाट काठमाडौं पुग्नुभयो । त्यतिबेला मोवाइल फोनको जमाना थिएन । पोखरा पुर्याइदिन्छु भनेको पाइलटले श्रीमति र बाबुलाई काठमाडौं नै पुर्याइदिएछ त्यो चाही आफु काठमाडौं पुगेर थाह पाए ।
बर्दियामा झनै दुखै दुःख
दशैं तिहार सकियो । डा प्रधानको डोल्पाबाट बर्दिया सरुवा भयो । अव डोल्पा जानु परेन् । २०३१ सालमा जिल्ला अस्पताल बर्दियामा सरुवा भएपछि पत्नि र छोरासहित डा प्रधान बर्दिया जानुभयो । तर बर्दिया जान अहिलेजस्तो कहाँ सजिलो थियो र ?
पूर्वपश्चिम राजमार्ग थिएन् । गुलरिया जान भारतको रुपैडिया भएर मूर्तियानाका हुँदै गुलरिया जानु पथ्र्यो । मूर्तियाको जंगलमा असाध्यै डाँका लाग्थे । तर डा प्रधानका एकजना रेन्जर साथी बर्दियामा नै थिए । उनैको गाडिमा डा प्रधान परिवार नेपालगन्ज आउनेजाने गरेकाले डाँकाको फन्दाबाट जोगिनु भयो । नत्र मूर्तिया जंगलमा डाँका नलागेको दिन हुदैनथ्यो । गुलरियामा त्यतिबेला बत्ति थिएन । सर्प बिच्छीको विगविगी त्यस्तै ।
‘बर्दियाको कुरा नगर्नुस् सँगै रहेकी पत्नी सीतादेवीले भन्नुभयो–‘तरकारी किन्न मण्डी जाँदा पनि म बेहोस भएर कति लडे लडे ।’ गर्मी हँदै हुने भएकाले बर्दिया बसाई निकै कष्टकर बनेको उहाँको भनाइ थियो । बर्दियामा करिव दुई वर्ष बसाइपछि उहाँको रौतहटको गौर अस्पतालमा सरुवा भयो । त्यहाँपनि गर्मीले खुबै सताएको डा.प्रधानले बताउनुभयो ।
डोल्पा जाँदा ४८० रुपैँया तलव, बर्दिया आउँदा ७००
उतिबेला एउटा डाक्टरको तलव कति थियो ? डा प्रधानले जवाफ नदिँदै पत्नि सीतादेवीले भनिदिनुभयो–‘डोल्पा जाँदा ४ सय ८० रुपैँया थियो, बर्दिया आउँदा ७ सय रुपँया ।’ २०२९ सालमा डोल्पा जाँदा डा प्रधानको मासिक तलव चार सय ८० रुपैँया थियो ।
जवकी चामल प्रतिकिलो ३ सय ५० रुपैँयादेखि ४ सय ५० रुपैँयासम्म पथ्र्यो । ‘कहाँ चामल खानु ? उहाँले भन्नुभयो–‘त्यहाँ त फापर नै हुन्थ्यो नि ! तर डाक्टर भएकाले सबैले माया गर्थे । खान बस्नको समस्या भएन ।’
करिव तीन घण्टासम्म
भेरी अस्पताल नेपालगन्जले स्थापनाको अवसरमा वार्षिकउत्सव मनाउने तयारी गरेको छ ।वार्षिकउत्सवको अवसरमा भेरीले स्मारिका निकाल्दै छ । त्यही सन्दर्भमा अन्तरवार्ताका लागि डा प्रधान निवासमा स्वास्थ्य पेजको टिम गएको थियो ।
जागिरे जीवनका आरोह–अवरोह अन्तरङ्ग प्रस्तुत गर्नुभएका डा प्रधानलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै सरकारबाट गोरखा दक्षिणबाहु चौथोसँगै दर्जनौं पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
भित्ताभरी सम्मान र पुरस्कारले भरिएका प्रमाणपत्र देखाउँदै डा प्रधानले भन्नुभयो–‘जीवनको महत्वपूर्ण कमाई यही हो । धनदौलत भन्ने कुरा त यस्तै हो ।’ कुराकानीको वीट मार्दै हामीले भन्यौ–‘डाक्टर साब हजुरको जीवन सहज र सरल तरिकाले वितोस् स्वास्थ्यलाभको कामना ।’ करिव तीन घण्टाको बसाईमा पनि डा प्रधानका जागिरे जीवनका कैयौं कथाहरु अझै सुन्न बाँकी नै थिए…।