धनगढीः कैलालीमा आजदेखि निषेधाज्ञा थप खुकुलो पारिएको छ । सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागु गरी सञ्चालनमा ल्याइएको छ । नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरी यसअघि नै सञ्चालन गर्न दिइएको थियो । सार्वजनिक सवारी साधन विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभयो । यातायातका साधन जिल्ला भन्दा बाहिर जान र बाहिरबाट आउन भने रोक लगाएको छ । चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधन सञ्चालन गर्न पाईनेछ ।
अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाईनेछ । उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य पनि सञ्चालनमा आएका छन् । होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा बिहान ६ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाईने छ ।
सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ । वर्कसप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालय कैलालीको जारी निषेधाज्ञामा उल्लेख छ ।
भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्था कायमै रहेको छ । होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ ।
सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन् भने विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन । नित्यकर्म बाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।