रामेछापः रामेछापको मन्थली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आकस्मिक प्रसूति शल्यक्रिया सञ्चालन गर्न नसक्दा बर्सेनि केन्द्र सञ्चालनका लागि आउने बजेट राज्यकोषमा फिर्ता (फ्रिज)हुँदै आएको छ ।
रामेछापमा आकस्मिक प्रसूति शल्यक्रिया केन्द्र सञ्चालन हुन नसक्दा गर्भवती महिला उपचारका लागि छिमेकी जिल्लाका अस्पताल र राजधानीसम्म धाउन बाध्य छन् । मन्थली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति भर्ना गर्न नसक्दा यो केन्द्र सञ्चालनमा आउन नसकेको हो ।
आकस्मिक प्रसूति शल्यक्रिया बन्द हुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार लिन आएका गर्भवती महिलालाई स्वास्थ्यकर्मीले काठमाण्डौ रिफर गर्दै आएका छन् ।
स्वास्थ्यकर्मीले रिफर गरेका कतिपय गम्भीर प्रकृतिका गर्भवती महिलाले एम्बुलेन्समा जाँदै गर्दा बीच बाटैमा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका उपाध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
‘प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति शल्यक्रियाका लागि आवश्यक पर्ने सबै प्रविधि छन् । त्यस्तै शल्यक्रियाका लागि छुट्टै भवनको समेत व्यवस्थापन गरेका छौँ । तर जनशक्ति नहुँदा आकस्मिक प्रसूति शल्यक्रिया केन्द्र सञ्चालनमा ल्याउन सकेका छैनौँ’, उहाँले भन्नुभयो ।
यस विषयमा पटक–पटक मन्थली नगरपालिकामा अनुरोध गर्दा समेत नगरपालिकाले बेवास्ता गरेका कारण गर्भवती महिलाले सास्ती खेप्नु परेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
मन्थली नगरपालिकाले गर्भवती महिलाका लागि आकस्मिक प्रसूति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र २०७२ सालदेखि सञ्चालनमा ल्याएको थियो तर निरन्तरता पाउन सकेन ।
पालिकाले आवश्यक बजेट व्यवस्थापन गरेर सञ्चालन गर्नुको साटो सङ्घीय सरकारबाट आएको बजेटसमेत राज्यकोषमा नै फिर्ता हुँदै आएको छ ।
पालिकाले गएको आर्थिक वर्ष २०७५/०७६ मा १० लाख ६७ हजार सात सय ५० रुपैयाँ र गएको आर्थिक वर्ष २०७६/०७७ मा गरी दुई आर्थिक वर्षमा २१ लाख २० हजार सात सय ५० रुपैयाँ रकम खर्च गर्न नसकेर राज्यकोषमा फिर्ता गरेको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकीले जानकारी दिनुभयो ।
प्रसूति शल्यक्रिया सेवा बन्द भएपछि चालु आर्थिक वर्ष २०७७/७८ मा गम्भीर प्रकृतिका ६७ गर्भवती महिलालाई काठमाण्डौका अस्पतालमा रिफर गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।