नेपालगन्जः बर्दियामा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ । समुदायस्तरमा परीक्षण दर बढेसँगै जिल्लामा संक्रमण दर बढ्दै गएको कोभिड उपचार र व्यवस्थापनमा खटिएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।
बर्दियामा दैनिक एक सयको हाराहारीमा नमुना परीक्षण भइरहेको छ । तीमध्ये ५० प्रतिशतबढीमा भाइरस संक्रमण पुष्टि भइरहेको श्रेष्ठले बताउनुभयो ।
दोस्रो लहर सुरु भएदेखि बैशाख १ गतेदेखि हालसम्म बर्दियामा ५ हजार ५ सय ४२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ३९ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्
। संक्रमण पुष्टि भएकामध्ये ४ हजार ९ सय ९ जना डिस्चार्ज भएका छन् भने १ सय २९ जनाको मृत्यु भएको छ । अहिलेपनि जिल्लामा ५ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।
पहिलो लहरमा बर्दियामा १ हजार ७ सय ७८ जनामा संक्रमण देखिएको थियो भने १९ जनाको मृत्यु भएको थियो ।